आखिर को हुन् काठमाडौंका मेयर विद्यासुन्दर शाक्य, जो कहिल्यै हार्देनन् ?
काठमाडौं, जेठ १४
विद्यासुन्दर शाक्य देशकै सबैभन्दा पुरानो र शक्तिशाली काठमाठौँ महानगरपालिकाको मेयर निर्वाचित हुनुभएको छ । उहाँ सत्तामै रहेको काँग्रेसकातर्फबाट मेयरका उम्मेदवार राजुराज जोशीलाई २१ हजार बढी फराकिलो मत अन्तरले पराजित गर्न सफल हुनुभएको हो ।
अहिलेसम्म कुनै पनि निर्वाचनमा हार नव्यहोर्नु भएका शाक्य मेयरमा निर्वाचित भएसँगै आगामी पाँचवर्ष भित्र काठमाडौँ महानगरपालिकालाई कस्तो बनाउने भन्ने गहकिलो जिम्मेवारी उहाँको काँधमा आएको छ ।
काठमाडौँकै लगनटोलमा विं.सं. २०२० जेठ ९ गते जन्मिएर त्यहिँको माटोमा हुर्किनु भएका शाक्यले अब आफ्नो टोलबाट करिब एक–डेढ किलोमिटरको मात्र दूरीमा रहेको बागदरवारको कुर्सी पाँचवर्षका लागि सम्हाल्नु पर्ने छ ।
बागदरवार नजिकै रहेको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यामिक विद्यालयबाट विद्यालयतहको अध्ययन पूरा गर्नुभएका शाक्यले शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकसम्मको अध्ययन पूरा गर्दासम्म पनि काठमाडौँको मेयर बन्ने सायदै सोच्नुभएको थियो ।
विद्यालयतहदेखि नै राजनीतिमा सम्लग्न सरल, सभ्य र शालिन व्यक्तित्वका धनी शाक्यको ध्येय केवल राजनीति मात्रै थियो ।
उहाँले पद र पैसाका लागि कहिल्यै राजनीति गर्नुभएन । राजनीति प्रतिष्ठा र समाज परिवर्तनका लागि गर्ने हो भन्ने अठोट बोकेर हिड्नु भएका शाक्यले अहिले जुन सफलता प्राप्त गर्नुभएको छ ।
त्यसलाई उहाँ आफैँ पनि निरन्तरको योगदान र निष्ठाको प्रतिफल हो भन्नुहुन्छ ।
काठमाडौंको भित्रि सहरमा निकै लोकप्रिय जनप्रतिनिधीका रुपमा आफ्नो छुट्टै परिचय बनाउन सफल शाक्य काठमाडौँको नेवारी समूदायमा जन्मि–हुर्किनु भएको हो ।
कलिलो उमेरदेखि नै राजनीतिमा होमिनु भएका शाक्य०३७ सालको जनमत संग्रहका बेलादेखि नै राजनीतिमा सक्रिय बन्नुभएको देखिन्छ ।
१६ वर्षको कलिलो जवानीमै राजनीतिमा होमिनु भएका शाक्यले आफ्नो ५४ वर्षको उमेर पार गर्दासम्म पनि राजनीतिलाई नै अर्जुन दृष्टि बनाएर हिड्नुभयो ।
उहाँका बालसखाहरु अहिले कोही डाक्टर बनेका छन् । कोही विदेशमा अरवौं कमाएर बसेका छन् । तर, उहाँ एकोहोरो राजनीतिमै होमिनुभयो ।
०४६ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा पनि उहाँले अग्रमोर्चामै उभिए सक्रिय भूमिका खेल्नुभयो ।
प्रजातन्त्रप्राप्तिको आन्दोलनका क्रममा निर्भीकतापूर्वक अग्रमोर्चामा रहेकै कारण पटक–पटक प्रहरीको निशानामा पर्नुभएका शाक्य आफ्नो विचारबाट तिलको दाना जतिपनि दायाँ–बायाँ हुनुभएन ।
त्यसैबेलादेखि नै आफ्नो सम्पूर्ण ध्यये राजनीतिमा लगाउनु भएका शाक्यले प्रजातन्त्र प्राप्तिपछि स्थापना भएको नेकपा (एमाले) को तत्कालिन युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनको काठमाडौँको संस्थापक कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नु भयो ।
शाक्यले त्यसैबेला पनि आफ्नो जिम्मेवारीलाई कुशल ढंगले पूरागर्नुभएको थियो । काठमाडौँका युवाहरुलाई संगठित गर्ने, संगठनलाई कुशल ढंगले सञ्चालन गर्ने जस्ता कार्यमा उहाँको भूमिका उल्यख्य रहेको थियो ।
उहाँले कोषाध्यक्षको जिम्मेवारी सम्हाल्दा गरेको कामको मूल्याङ्कन गर्दै पार्टीले ०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा काठमाडौँ वडा नम्बर २१ को अध्यक्षका रुपमा अघि सार्यो ।
कुशल संगठनका रुपमा आफुलाई उभ्याउन सफल शाक्यलाई त्यस बेला निर्वाचन जित्न कुनै समस्या भएन । उहाँका प्रतिस्पर्धीहरु उहाँका सामू फिका भए । उहाँ शानदारका साथ आफ्नो वडाबाट सूर्य अंकित झण्डालाई फहर्याउन सफल हुनुभयो ।
सबैका कुरा सुन्ने, विकास निर्माणका काममा अहोरात्र खटिरहने, भाषण भन्दा बढी काममा विश्वास गर्ने, नेता–कार्यकर्ताहरुको भावनालाई सम्मान गर्ने, राम्रो कामका लागि विपक्षीलाई पनि साथ समर्थन गर्ने र अध्ययनमा विशेष रुची राख्ने शाक्य पहिलो पटक जनप्रतिनिधिका रुपमा निर्वाचित हुँदा सबैको उदाहरणीय बन्नुभयो ।
शाक्यले आफ्नो पहिलो कार्यकालमा उक्त वडामा उदाहरणीय काम गरेकै कारण उहाँ एमाले मात्र होइन अन्य राजनीतिक दलका लागि पनि‘आँखाको रातीगेडी’ जस्तै बन्नुभयो ।
उहाँको सक्रियताकै कारण ०५४ सालमा भएको स्थानीयनिर्वाचनमा उहाँसँग उक्त वडामा प्रतिस्पर्धा गर्नेहरुको कध होचो भयो अर्थात उहाँ दोस्रो कार्यकालमा पनि वडाध्यक्ष निर्वाचित हुनभयो ।
आफ्नो अडानमा रौँ बराबर पनि पछि नहट्ने शाक्य करिब दुई दशकदेखि नेकपा (एमाले)को जिल्ला कमिटीमा विभिन्न जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।
मृदुभाषी र कुशल संगठकका रुपमा आफ्नो छुट्टै परिचय बनाउन सफल शाक्य अहिले मेयर निर्वाचित हुनुभएको छ ।
राजनीतिमा लागेर अहिले सम्मकुनै पनि विवादमा नमुछिनु भएका शाक्यका पिता हेरारत्न शाक्य र माता मंगलशोभा शाक्यको निधन भैसकेको छ ।
हाल लगनटोलमै पत्नी सुचिता शाक्यसहित परिवारसँग बस्दै आउनु भएका शाक्यले भारत, चीन, थाइल्याण्ड, भुटान, उत्तर कोरिया, युएईलगायतका देशको भ्रमण गरिसक्नु भएको छ ।
सपना बाँड्ने भन्दा पनि महानगरवासीको सपना पूरा गर्ने ध्येयले मेयरका रुपमा प्रस्तुत हुनुभएका शाक्यले आफ्नो कार्यकालमा भनिने महानगर होइन देखिने महानगर बनाउँने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
प्रकाशित मिति: १४ जेष्ठ २०७४, आइतबार