माओवादी केन्द्रद्वारा चार नगरपालिकामा उम्मेदवारको टुङ्गो


 


इलाम, जेठ १३

स्थानीय तहको दोस्रो तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) इलामले चार नगरपालिकामा प्रमुख र उपप्रमुखका उम्मेदवार तय गरेको छ ।

माओवादी केन्द्रले नगरपालिका प्रमुखमा छविलाल आचार्य र उपप्रमुखमा प्रेमकुमारी गुरुङ तथा देउमाई नगरपालिका प्रमुखमा रामकुमार राई र उपप्रमुखमा शान्ता बस्नेतलाई उम्मेदवार चयन गरेको प्रचारप्रसार विभाग प्रमुख जीवन शर्माले बताउनुभयो ।

यस्तै सूर्योदय नगरपालिका प्रमुखमा राज राई र उपप्रमुखमा टीका घिमिरे तथा माई नगरपालिका प्रमुखमा भक्त लुङ्गेली र उपप्रमुखमा रञ्जना थापालाई छनोट गरिएको छ ।

नेकपा(एमाले)ले १० स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र अन्य सदस्यको टुङ्गो लगाइसकेको छ । नेपाली काँग्रेसमा पनि उम्मेदवारी प्रक्रिया चलिरहेको छ । केही ठाउँमा उम्मेदवार छनोट गरिसकेको काँग्रेसले आजसम्ममा उम्मेदवार टुङ्गो लगाउने काँग्रेसका प्रचारप्रसार विभागका प्रमुख निरोज खड्गीले जानकारी दिनुभयो ।
साङ्केतिक सामग्री प्रयोगमा प्रतिबन्ध

निर्वाचनको प्रचारका लागि राजनीतिक दल एवम् स्वतन्त्र उम्मेदवारले टोपी, झोला, टिसर्टजस्ता साङ्केतिक सामग्री प्रयोग गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई परिपत्र गरी उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अङ्कित पहिरन, टोपी, स्टिकर, प्रतीकचिह्न, झोलाजस्ता साङ्केतिक सामग्रीको प्रयोग, बिक्री र प्रदर्शनमा रोक लगाउन निर्देशन दिएको छ ।

यसअघि पहिलो चरणमा समेत प्रयोगमा रोक लगाउन आदेश दिइए पनि कतिपय क्षेत्रमा यसको उल्लङ्घन भएको थियो । यसअघि निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता २०७३ का मौनअवधिमा मात्र यस्ता सामग्रीको प्रयोग, बिक्री वितरण र प्रदर्शनमा रोक लगाउने उल्लेख गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयले सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि एवम सुरक्षा निकायसँग शुक्रबार अन्तक्र्रिया गर्दै जेठ ३१ गतेको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि आआफ्ना क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ ।

जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले आचारसंहिताले रोक लगाएको निर्वाचन चिह्न अङ्कित सामग्रीको प्रयोग नगराउन इलामका सबै राजनीतिक दललाई आग्रह गर्नुभयो ।

निर्वाचन कार्यालयले जेठ २८ देखि ३० गतेसम्म सम्बन्धित स्थानीय तहको निर्वाचन कार्यालयबाट मतदाता परिचयपत्र उपलब्ध गराउने भएको छ । मुख्य निर्वाचन अधिकृत नवराज दाहालले राजनीतिक दललाई भौतिक पहिचान फरक लिएरभन्दा विचार, सोच र कार्यक्रम लिएर मतदातासम्म जान आग्रह गर्नुभयो ।

प्रजिअ जनकराज दाहालले सुरक्षाको दृष्टिले इलाम सुरक्षित रहेको बताउँदै राजनीतिक दलका भ्रातृ सङ्गठनलाई आचारसंहिता उल्लङ्घन हुन नदिन आग्रह गर्नुभयो । रासस

प्रकाशित मिति: १३ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्