समयमै अस्पताल पुर्याउन नसक्दा रक्तश्रावबाट गर्भवतीको मृत्यु


 


जुम्ला, जेठ १३

उच्च रक्तश्रावका कारण तिला गाउँपालिका–३ स्थित लुम्सेरा गाउँकी एक महिलाको अकालमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा २७ वर्षीया ज्ञानु भट्टराई छन् । भट्टराईलाई बिहीबारदेखि व्यथा लागेको र तत्काल अस्पताल आउन नमानेका कारण शुक्रबार उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको मृतकका श्रीमान् जग्गीप्रसादले जानकारी दिनुभयो । भट्टराईलाई जुम्ला अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

भट्टराईको उच्च रक्तश्रावका कारण मृत्यु भएकोे प्रतिष्ठान जुम्लाका डा राजीव शाहले जानकारी दिनुभयो । “गर्भवतीलाई टेम्पुमा बेहोस अवस्थामा ल्याइएको थियो, होसमा नआई उनको मृत्यु भयो” उहाँले भन्नुभयो । रक्तश्राव अघिल्लो दिनदेखि भएको तर पारिवारिक हेलचक्र्याइँका कारण बिरामी समयमै अस्पताल पुर्याउन नसक्दा मृत्यु भएको उहाँको भनाइ छ ।

डा शाहका अनुसार ज्ञानुको यसअघि दुई वटा शल्यक्रियाबाटै शिशु निकालिएको थियो । स्थानीयवासीका अनुसार ज्ञानुलाई जुम्ला सदरमुकामबाट २० किमी दूरीको कुडारी लुम्सेरा गाउँबाट बसमा उपचार गर्न अस्पताल ल्याइएको थियो । रासस

प्रकाशित मिति: १३ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्