काँग्रेसले प्रदेश नं १ र ७ का उम्मेदवार टुङ्ग्यायो


 


काठमाडौँ, जेठ १२

नेपाली काँग्रेसले यही जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं १ र ७ का अधिकांश जिल्लामा पार्टीका उम्मेदवारको टुङ्गो लगाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिनभर बसेको पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी एवम् प्रभावशाली केन्द्रीय सदस्यसहितको बैठकले प्रदेश नं १ र ७ मा केही जिल्लाबाहेक पार्टीका उम्मेदवार तय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बाँकी रहेका जिल्ला एवम् प्रदेश नं २ र ५ मा पार्टीका उम्मेदवारको टुङ्गो लगाउन बैठक भोलि बिहान बस्नेछ ।

काँग्रेसले निर्वाचनका लागि क्षेत्रीय कार्यसमितिलाई क्षेत्रअन्तर्गतका नगरपालिका र गाउँपालिकाका उम्मेदवार टुङ्ग्याउने अधिकार दिएको छ ।

क्षेत्रले उम्मेदवार चयन गर्न नसकेमा जिल्ला कार्यसमितिले गर्ने र जिल्ला समितिले पनि नसकेमा केन्द्रीय कार्यसमितिमा आउने व्यवस्था गरेको छ ।

केन्द्रीय समितिमा आएका विषयमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यकोे समूहले निर्णय गर्ने गरेको छ ।

बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायत पार्टीका प्रभावशाली केन्द्रीय सदस्यको उपस्थिति थियो ।

प्रकाशित मिति: १२ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्