स्थानीयले कुलो भत्काएपछि गाउँ अन्धकार


 


तेह्रथुम, जेठ १२

आफ्नो जग्गामा पहिरो गएको भन्दै स्थानीयवासीले जलविद्युत् आयोजनाको कुलो भत्काइदिएपछि तेह्रथुमको खाम्लालुङका करिब २०० परिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।

आठराई गाउँपालिका–२, खाम्लालुङमा रहेको २२ किलोवाट क्षमताको कोयाखोला जलविद्युत् आयोजनाको कुलो स्थानीय जग्गाधनी लक्ष्मी सुनारले भत्काइदिएका हुन् । कुलो भत्किएपछि दुई दिनदेखि आयोजनाको उत्पादन ठप्प छ । विद्युत् अवरुद्ध भएपछि गाउँका २०० परिवार अन्धकारमा बस्न बाध्य भएको आयोजनाका अध्यक्ष गोपी ढुङ्गानाले बताउनुभयो ।

सुनारले कुलोबाट पानी बग्दा आफ्नो जग्गामा पहिरो गएको भन्दै पटक पटक गुनासो गर्दै आएका थिए । बुधबार उनले आयोजनाको करिब १० मिटर कुलो भत्काइदिएका छन् । सुनार पाँचथरको फिदिममा व्यवसाय सञ्चालन गरेर बस्छन् ।

आयोजनाको कुलोमा क्षति पु¥याउने व्यक्तिलाई छानबिन गरी कानुनी कारबाहीको माग गर्दै उपभोक्ता समितिले इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारमा उजुरी गरिएको समितिका अध्यक्ष ढुङ्गानाले बताउनुभयो । विसं २०६४ मा निर्माण भएको परियोजनाको कुलो उपभोक्ता समितिले भने सरकारी जग्गामा पर्ने दाबी गरेको छ ।

केही साताअघि वर्षा र बाढीले क्षति गरेको आयोजनामा साता दिनसम्म लगाएर स्थानीयवासीले श्रमदानसमेत गरेर बनाएका थिए । रासस

प्रकाशित मिति: १२ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्