बल्ल देखिन थाले लोपोन्मुख हिमाली जटायु


 


बेनी, जेठ ११

म्याग्दीको उच्च हिमाली तथा पहाडी क्षेत्रमा लोपोन्मुख अवस्थामा रहेका हिमाली जटायु (गिद्ध) देखिन थालेका छन् ।

विषादीयुक्त आहारा, बढ्दो तापक्रमको प्रभाव र बासस्थानको अभावका कारण विश्वबाट नै लोप हुने अवस्थामा रहेको हिमाली जटायु म्याग्दीलाई डाइक्लोफेनेकमुक्त जिल्ला घोषणा गरिएपछि उच्च भेगमा फाट्टफुट्ट देखिन थालेका स्थानीयवासीले बताएका छन् । चिमखोला, मुदी र लुलाङमा हिमाली जटायु देखिएका चिमखोलाका धु्रव पाइजाले जानकारी दिनुभयो ।

लोपोन्मुख जटायु संरक्षण गर्न म्याग्दीलाई पशु उपचारमा प्रयोग गरिने ‘डाइक्लोफेनेक औषधि’मुक्त जिल्ला घोषणासँगै पशुमा सो औषधि प्रयोग र बेचबिखन गर्न प्रतिबन्ध लगाइएपछि एक वर्षको अवधिमा सकारात्मक सङ्केत देखिएको जिल्ला पशु सेवा कार्यालय म्याग्दीका पशु चिकित्किस जीवन आचार्यले बताउनुभयो । जिल्ला पशु सेवा कार्यालय र नेपाल पन्छी संरक्षण सङ्घ काठमाडौँको प्रयासमा दुई वर्षअघि २५औँ जिल्लाका रुपमा म्याग्दीलाई ‘डाइक्लोफेनेक औषधि’मुक्त जिल्ला घोषणा गरिएको थियो ।

जिल्लाका चिमखोला, दग्नाम, गुर्जा, मुदी, ताकम, लुलाङलगायत ठाउँमा हिमाली जटायु देखिन थालेका र ती जटायुको संरक्षणका लागि विशेष कार्यक्रमको आवश्यकता भएको सरोकारवालाले बताएका छन् । जिल्लामा कुन प्रजातिका गिद्ध कति सङ्ख्यामा छन् भन्ने कुराको विस्तृत अध्ययन नभएको र कुनै पनि अभिलेख नरहेको जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्