यसरी हुँदैछ दोस्रो चरणको निर्वाचन अनिश्चित पार्ने खेल !


 



काठमाडौं, जेठ ११
स्थानीय तहको पहिलो चरणको निर्वाचन बैशाख ३१ गते सम्पन्न भएको छ । जसको मतगणना कार्य अझै जारी छ ।

काठमाडौं लगायत केही ठाउँका मतगणना गर्ने कार्य कछुवा गतिमा अघि बढिरहेको छ । सरकारले घोषणा गरेअनुसार दोस्रो चरणको निर्वाचन गर्ने मिति जेठ ३१ गते नजिकिँदै छ ।

अब दोस्रो चरणको निर्वाचन आउन पूरा १९ दिन मात्रै बाँकी रहँदा पनि पहिलो चरणको मतगणना कार्य सम्पन्न हुन सकिरहेको छैन । यसले पनि दोस्रो चरणको निर्वाचनको तयारीमा केही असर पुर्याइरहेको छ । त्यसैमाथि सरकार परिवर्तन भएर निर्वाचन अन्योलमा परेको छ ।

आचारसंहित विपरित सरकार परिवर्तन

विभिन्न कारणले दोस्रो चरणको निर्वाचनको तयारी प्रभावित भइरहेका बेला सरकारले पनि दोस्रो चरणको निर्वाचन अनिश्चित पर्ने खेल सुरु गरेको छ । पहिलो कुरा त प्रधानमन्त्री प्रचण्डले नै निर्वाचन आचारसंहिता विपरित राजीनामा दिएका छन् ।

निर्वाचन आचारसंहिताअनुसार सामान्य कर्मचारीलाई समेत सरुवा बढुवा गर्न मिल्दैन । तर, चुनाव आउन तीन हप्ता मात्रै बाँकी रहँदा आचारसंहिता विपरित सरकारनै परिवर्त भएको छ ।

सहमती हुन नसकेको अवस्थामा सरकार गठन गर्न नै झण्डै दुई हप्ता लाग्न सक्छ । यसकारण यो बिचमा दोस्रो चरणको निर्वाचन गर्नतिर भन्दा पनि दलहरु नयाँ सरकार गठनमा केन्द्रीत हुनेछन् ।

स्थानीय तह थप

देश पहिलो चरणको चुनाव सम्पन्न भइसकेको अवस्थामा सरकारले अस्ती मात्रै २२ स्थानीय तह थप गरेको छ । अब आउने दोस्रो तहको निर्वाचनमा पनि ती थपिएका तहमा पनि निर्वाचन गर्नुपर्ने हुन्छ ।

तर, बाँकी रहेको छोटो समयमै ती ठाउँहरुमा निर्वाचन गर्न त्यति असहज मात्रै नभएर जेठ ३१ गते चुनाव गर्न असम्भव नै छ । प्राविधिक कारणले ती स्थानहरुमा चुनाव गर्न सकिँदैन । अबको २१ दिनमा नयाँ थपिएका स्थानीय तहमा कार्यालय स्थापना गर्ने, कर्मचारी खटाउने, मतदाता नामावली छाप्ने र मतदाता परिचयपत्र छपाउने लगायतका काम गर्न सकिँदैन ।

निर्वाचन आयोगले नै जेठ ३१ गते नै थपिएको समयमा निर्वाचन गर्न नसकिने बताएको छ । यद्यपी, यस विषयमा आयुक्तहरुको मत पनि बाँझिएको छ । तर, थपिएका स्थानीय तहलाई पनि समेटेर चुनाव गर्नका लागि दोस्रो तहको चुनाव सार्नुपर्ने हुन सक्छ वा स्थानीय चुनाव तेस्रो चरणसम्म जान सक्छ ।

महानगरपालिका थप

सरकारले स्थानीय तहको संख्या थप गरेसंगै दुई महानगरपालिका पनि थप गरेको छ । विराटनगर र विरगञ्जलाई महानगरपालिका घोषणा गरिएको छ । यसले पनि चुनावलाई निश्चित रुपमा असर पुग्छ नै ।

महानगरपालिकाको मापदण्ड पुरा गर्न केही गाविसहरुलाई सामेल गर्नुपर्ने हुन सक्छ । यसअघिको अवस्थामा सो स्थानहरुमा जसरी तयारी गरिएको थियो त्यसलाई परिमार्जन गर्नुपर्ने हुन सक्छ । सोहीअनुसार दलहरु पनि तयारीमा जुट्छन् । तर, छोटो समयमा त्यो सम्भव नहुन सक्छ ।

प्रमुख प्रतिपक्षीको विरोध

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बावजुद पनि प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससंगको पूर्वसहमतीमा इमान्दारिता देखाएर राजीनामा दिएपनि निर्वाचनमा भने असर पुगेको छ । एमालेले आचारसंहिता विपरित पनि हुने र दोस्रो चरणको निर्वाचनलाई पनि प्रभाव पर्ने भएकाले विरोध गर्दै आएको छ ।

सरकार परिवर्तनको खेलले ३१ जेठका लागि तोकिएको दोस्रो तहको निर्वाचनको मिति अनिश्चित बनेको छ । यस्तो अवस्थामा सरकार परिवर्तनले तोकिएको दोस्रो चरणको निर्वाचन समयमै नहुने देखिएको छ ।

सरकार परिवर्तन भएपछि अर्को सरकार गठन नहुँदासम्म काम चलाउ सरकार रहने छ । प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा पत्र स्विकृत गरेपछि उनले सहमतीको सरकार गठनका लागि एक हप्ताको समय दिनेछिन् ।

तर, अबको एक हप्ता सरकारको नीति तथा कार्यक्रम, र आगामी आर्थिक वर्षको बजेट पेश गर्नेलगायतका महत्पूर्ण कामहरु हुने छन् । यसकारण राष्ट्रपतिले पनि यसबीचमा सहमतीको सरकार गठन गर्न आह्वान गर्ने सम्भावना कम छ ।

बजेट पेश भएपछि वा १६ गते उतादेखि मात्रै राष्ट्रपतिले सहमतीको सरकार गठनका लागि आह्वान गर्नेछिन् । सहमतीको सरकारका लागि दलहरु २२ गतेसम्म छलफलमै हुनेछन् ।

तर, माओबादी केन्द्र र कांग्रेसबीचको पूर्व सहमतीअनुसार सहमतीको सरकार बन्ने सम्भाना निकै कम छ । यसको मतलब एक हप्तामा देशले प्रधानमन्त्री पाउने छैन । सहमतीको सरकार नबनेको खण्डमा पुनः राष्ट्रपतिले बहुमतीको सरकार बनाउन आह्वान गर्नेछिन् ।

राष्ट्रपतिबाट बहुमतीय सरकार गठन गर्न गरिएको आह्वानपछि दलहरु सोहीअनुसार सरकार गठनमा लाग्नेछन् । तर, एकै दिनमा सरकार गठन हुन्छ भन्ने पनि कुनै ग्यारेन्टी छैन । जे भएपनि जेठ २३ गतेदेखि उता मात्रै देशले प्रधानमन्त्री पाउने छ ।

त्यसपछि बाँकी रहेको एक हप्तामा निर्वाचन गर्न कतिको सहज होला वा नहोला भन्ने बारे सहजै अनुमान लगाउन सकिन्छ । यसबाट सरकार नै जेठ ३१ गतेको चुनाव सार्ने मनसायमा छ र सोहीअनुसार यस्तो खेल खेलिरहेको छ ।

प्रकाशित मिति: ११ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्