काठमाडौं र पोखरा महानगरपालिका यस कारण एमालेको पक्का


 


काठमाडौं, जेठ १०
देशका चार महानगरमध्यको एक ललितपुर महानगरपालिकाको मतपरिणाम आइसकेको छ । जसमा नेपाली काँग्रेसका चिरीबाबु महर्जन विजयी भइसकेका छन् ।

बाँकी तीनवटै महानगरमा एमाले उम्मेदवार अगाडि छन् । केही प्रतिशपर्धा भएको चितवनको भरतपुर महानगरपालिकामा पनि माओबादी केन्द्र र कांग्रेसकी साझा उम्मेदवार रेण दाहाल भन्दा एक्लै एमाले उम्मेदवा देवी ज्ञवाली ३ हजार मतले अगाडि छन् ।

कांग्रेसले आफ्नो उम्मेदवार उठाएको पोखरा र काठमाडौंमा अब अग्रता कायम गर्न असम्भव भइसकेको छ । यी दुई ठाउँमा नेकपा एमाले निकै अगाडि छ ।

अहिलेसम्मको मतपरिणाम र अगाडि प्राप्त हुने अनुमानित मतलाई आधार मान्ने हो भने काठमाडौं र पोखरा महानगरपालिकामा एमालेको जित लगभग पक्कापक्की भइसकेको भन्दा फरक पर्दैन ।

मतगणना अन्तिम चरणमा आइसक्दा पोखरा महानगरमा कांगे्रस–माओबादी केन्द्रका साझा उम्मेदवार रामजी कुँवरभन्दा एक्लै एमालेका उम्मेदवार मानबहादुर जिसी ७ हजार बढी भोटले अगाडि छन् । अब पोखरामा करिब ३५ प्रतिशत मत मात्रै गणना गर्न बाँकी छ ।

एमालेका मेयर उम्मेदवार मानबहादुर जिसीले ३७ हजार ४ सय ५१ मत हासिल गरेका छन् । नेपाली कांग्रेसका मेयर उम्मेदवार रामजि कुँवर भने जिसीभन्दा ७ हजार १ सय ७४ मतले पछि छन् ।

कुँबरले ३० हजार २ सय ७७ मत छ । यहि आधारमा अब उनी पराजित हुने निश्चित छ । उपमेयरमा पनि एमालेकी मञ्जु गुरुङले फराकिलो अग्रता लिएकी छन् । मञ्जुले ३५ हजार ६ सय १८ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी सरस्वती गुरुङ २८ हजार २ सय १० मत पाएकी छन् ।

त्यस्तै, काठमाडौं महानगरपालिकामा पनि एमाले उम्मेदवार विद्यासुन्दर शाक्य उनलाई पछ्याइरहेको कांग्रेस उम्मेदवार राजुराज जोशीभन्दा झण्डै ११ हजार ७१८ मतले अगाडि छन् ।

विद्यासुन्दरले पछिल्लो ताजा मतपरिणामअनुसार ४१ हजार ३५४ मत पाएका छन् भने काँग्रेसका राजुराजले २९ हजार ६३६ मत मात्रै पाएका छन् ।

काठमाडौं महानगरपालिकामा २ लाख ७४ हजार ४ सय ३८ मतदाता रहेपनि गत वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरका १ लाख ७२ हजारले मात्र मदादान गरेका थिए ।

अहिलेसम्म १ लाख ३२ हजार ८ सय ८६ मत गणना भइसकेको छ । अब गणना गर्न पूरा ४० हजार मत पनि छैन । राजुराजलाई झण्डै १२ हजार मत पार गरेर विद्यासुन्दरलाई पछार्न कुनै हालतमा पनि सम्भव छैन ।

यसकारण पनि अब काठमाडौंको मेयरमा एमालेका विद्यासुन्दरले बाजी मार्ने पक्का छ ।

प्रकाशित मिति: १० जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्