सामुदायिक वनबाट २५ लाख घरधुरी लाभान्वित, कति क्षेत्रफलमा छ सामुदायिक वन ?


 


काठमाडौँ, जेठ १०

सामुदायिक वनको प्रयोगबाट २५ लाख घरधुरी लाभान्वित भएका छन् । वन विभागले दिएको जानकारीअनुसार देशभरका २४ लाख ६१ हजार ५४९ घरधुरी लाभान्वित भएका हुन् । विभागका अनुसार एक करोड १८ लाख ४४ हजार जनताले सामुदायिक वनको प्रयोग गरेका छन् ।

विभागका सामुदायिक वन महाशाखा प्रमुख अनुज शर्माले देशभर १८ लाख १३ हजार ४७८ हेक्टर क्षेत्रफलमा सामुदायिक वन रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय सामुदायिक वन दर्ता गर्ने सङ्ख्यामा वृद्धि भएको छ ।”

गत वर्ष १८ हजार ६०० सामुदायिक वन रहेकामा यस वर्ष १९ हजार ३६१ सामुदायिक वन पुगेको शर्माले बताउनुभयो । सामुदायिक वन हिमाल र तराईको तुलनामा मध्यपहाडी क्षेत्रमा बढी रहेको छ । नेपालमा सबैभन्दा धेरै सामुदायिक वन धादिङमा ६८१ वटा रहेका छन् भने मुस्ताङमा कुनै पनि सामुदायिक वन रहेको छैन ।

वन संरक्षण गरी मानिसको जीविकोपार्जनमा सहज बनाउने उद्देश्यले २०३० सालमा सिन्धुपाल्चोकको ठोकर्पा वनबाट सामुदायिक वनको सुरुवात गरिएको थियो । ठोकर्पाका तत्कालीन प्रधानपञ्च नीलप्रसाद भण्डारीको सक्रियतामा सामुदायिक वनको सुरुवात गरिएको वन विभागले जनाएको छ । रासस

प्रकाशित मिति: १० जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्