उपत्यकामा उभौली पर्व धुमधाम


 


काठमाडौं, जेठ ७
किराँत समुदायको महान् पर्व उभौली सुरु भएसँगै धुमधामका साथ मनाउन थालिएको छ । किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायतका जातिले महान् चाडका रूपमा यो पर्व मनाउँदै आएका छन् ।

विशेषगरी पूर्वि नेपाल र काठमाडौं उपत्यकामा यो पर्वले किराती रीति र परम्पराअनुसार मनाउँने गरिन्छ । उभौलीलाई समुदाय, ठाउँ र भाषागत भिन्नताअनुसार विभिन्न नामले पुकारिन्छ ।

चाम्लिङले साकेला, वान्तावाले साकेवा तथा साकेन्वा, सुनुवारले फोलष्याँदर, लिम्बूले चासोक, दुमीले तोसी वा तोसुजस्ता नामले सम्बोधन गर्ने गर्दछन्।

यो पर्व ऋतु परिवर्तनसँगै वर्षमा दुईपटक मनाइन्छ । वैशाख शुक्ल पूर्णिमा अर्थात् वसन्त ऋतुमा उभौली र मंसिर पूर्णिमा अर्थात् शरद ऋतुमा उधौली पर्वको रूपमा मनाइन्छ ।

हरेक वर्ष अन्नबाली लगाउने बेलामा उभौली र पाक्ने बेलामा खुसियाली मनाउँदै उधौली पर्व मनाउने गरेको सांसद तारादेवी राईको भनाइ छ । उहाँका अनुसार लगाएको अन्नबाली राम्रोसँग सप्रियोस्, पानी परोस्, किराफट्याँङ्ग्रा तथा जंगली जनावरले दुःख नदिउन्, सबैमा सुख शान्ति, सुस्वास्थ्य, दैवी प्रकोप तथा विपत्ति नआओस् भन्दै उभौली पर्व मनाइन्छ ।

तराईतिर गर्मी बढेर माछा, पशुपंक्षी, चराचुरुंगी, किराफट्याङ्ग्रासमेत उभो चिसो लेकतिर बसाइँ सर्छ भन्ने विश्वासले वैशाख पूर्णिमामा मनाइने पर्वलाई उभौली भनिएको हो ।

किरातहरू उधौली पर्वमा अन्नबाली पाक्ने, खेतबारीमा लहलह देखिने, भकारी भरिएर सह बसोस्, आउँदो साल खाद्यान्नको अभाव नहोस् भन्दै खुसी, सुख र समृद्धिको कामना गर्दै उधौली पर्व मनाउँछन् ।

लेक तथा पहाडतिरको वातावरण चिसो हुने हुँदा गर्मीको समयमा तराईतिरबाट उभो चिसो लेकतिर बसाइँ सरेका माछा, पशुपंक्षी, चराचुरुंगी र किराफट्याङ्ग्रासमेत उधो गर्मी भएको ठाउँ मधेस, तराईतिर बसाइँ झर्छन् भन्ने विश्वासले पनि मंसिर पूर्णिमामा मनाइने पर्वलाई उधौली भनिएको किराँत समुदायका विज्ञहरुको भनाई छ ।

यतिबेला उपत्यकाभित्र यो पर्वले विशेष महत्व पाउन थालेको छ । उपत्यकामा बसोबास गर्ने किरात, राई, लिम्बू, याक्खा, सुनुवारलगायतको सामूहिक आयोजनामा उपत्यकाका विभिन्न ठाउँमा जम्मा भई पूजाआजा गर्दे चाँड मनाउने गरिन्छ ।

ललितपुरको टिकाथली ‘नखिपोट, टुँडिखेल, जावलाखेल, बानेश्वरलगायत ठाउँमा परम्पराअनुसार पूजा गरी उभौली मनाइएको छ ।

किरातको बसोबास रहेको बेलायत, हङकङ, सिंगापुर, अमेरिका, भारतलगायतका देशमा समेत यो चाडलाई मनाउन थालिएको छ ।

प्रकाशित मिति: ७ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्