राष्ट्रपतिद्वारा मन्त्रीहरु नियुक्त


 


सोल, जेठ ७

दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मुन जाए इनले आइतबार राष्ट्रपति कार्यालयका लागि उच्चस्तरिय कर्मचारी र केही मन्त्रीहरु नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय ब्लु हाउसमा पत्रकार सम्मेलन गरी राष्ट्रपति मुनले सुरक्षा, परराष्ट्र मामिला र अर्थ मन्त्री नियुक्त गरेको घोषणा गर्नु भएको हो ।

उहाँले चुङ इउइ योङलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरी राष्ट्रपतिको कार्यालयमा रहेको राष्ट्रिय सुरक्षा कार्यालयको नेतृत्व गर्ने जिम्मेवारी दिनुभएको छ । कूटनितिज्ञको रुपमा राम्रो अनुभव भएका व्यक्तिका रुपमा चिनिने योङ यसअघि युरी पार्टीबाट सांसद समेत हुनु भएको थियो ।

राष्ट्रपतीय निर्वाचनको बेला उहाँले मुनको कुटनीतिक नीतिका मामिलामा सल्लाहकारहरुको समूहको नेतृत्व गर्नुभएको थियो । चाङ योल्सेई विश्वविद्यालयका प्राध्यापक पनि हुनुहुन्छ ।

त्यसैगरी स्थानीय दैनिक पत्रिका र केवल टेलिभिजनका पूर्वप्रमुख होङ सोकह्यानलाई उहाँले सुरक्षा र कूटनितिक मामिलाको एक विभागको प्रमुखको रुपमा नियुक्त गर्नुभएको छ । होङ अमेरिकाका लागि पूर्वराजदूत पनि हुनुहुन्छ भने उहाँसँग अमेरिकामा ठूलो सञ्जालसँग व्यक्तिगत राम्रो संवन्ध भएको मानिन्छ ।

आर्थिक क्षेत्रमा उहाँले कोरिया विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक चाङ हासुङलाई नीति निर्माणको क्षेत्रको प्रमुखका रुपमा नियुक्त गर्नुभएको छ ।

उहाँले आर्थिक नीतिहरुको निर्माणका लागि संमन्वयकारी र नेतृत्वदायी भूमिका खेल्नु हुने छ । उहाँ दक्षिण कोरियामा एकदमै चर्चित वुद्धिजीवी तथा नागरिक अगुवा हुनुहुन्छ ।

राष्ट्रपति मुनले अहिले सुरक्षा, परराष्ट्र मामिला र आर्थिक विषयलाई प्राथमिकतामा राखेर उहाँहरुलाई नियुक्त गरेको बताउनु भएको छ ।

उहाँले अजोउ विश्वविद्यालयका अध्यक्ष किम डोङ येनलाई अर्थमन्त्रीको रुपमा नियुक्त गर्नुभएको छ । उहाँलाई उपप्रधानमन्त्रीको समेत जिम्मेवारी दिइएको छ ।

आपूm ११ वर्षको हुदा बुवालाई गुमाउनु भएका किमले लगातार आफ्नै मेहनतले सरकारी सेवाको परीक्षा पनि उत्तीर्ण गरेर सरकारी कर्मचारी संयन्त्रको अर्थतन्त्र क्षेत्रको उच्च तहमा पुग्नु भएको छ ।

राष्ट्रपति मुनले पत्रकार सम्मेलनमा किमलाई क्षमतावान अर्थशास्त्री तथा सरकारी कर्मचारी भएकाले आर्थिक क्षेत्रको नेतृत्व गर्न सक्ने विश्वास गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घका महासचिवका पूर्व विषेश सल्लाहकार लागि काङ क्युङ हवालाई परराष्ट्र मन्त्री बाइएको छ । उहाँ दक्षिण कोरियाको संसदीय शासन व्यवस्था सुरु भएदेखिको पहिलो महिला परराष्ट्र मन्त्री हुनुहन्छ ।

उहाँले नियुक्त गरेका मध्ये सल्लाहकार तथा उच्च कर्मचारीलाई संसदीय सुनुवाई गर्नु नपर्ने व्यवस्था भएपनि मन्त्रीहरुलाई भने संसदीय सुनुवाई गरेर अनुमोदन गर्नु पर्ने व्यवस्था रहेको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: ७ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्