भोजपुरको पौवादुङमामा स्वास्थ्य शिविर सम्पन्न


 


असिम दुङमाली
पौवादुङमा, भोजपुर जेठ ७

जिल्लाको पौवादुङमा मानेडाँडामा शनिवार स्वास्थ्य शिविर सञ्चालन भएको छ । विराटनगर स्थित नेशनल किड्नी हस्पिटल प्रा.लि. को आर्थिक तथा प्राविधिक सहयोगमा मानेडाँडा माध्यमिक विद्यालय र स्थानीय नवक्षितिज युवा क्लबको सहकार्यमा उक्त एक दिने स्वास्थ्य शिविर आयोजना भएको हो ।

स्वास्थ्य शिविर सञ्चालानार्थ अस्पतालका प्रवन्ध निर्देशक भोगेन्द्र खड्काको नेतृत्वमा नामूद युरोलोजिष्ट डा. सन्तोष कुमार झा सहित १३ जनाको टोली मानेडाँडा आइपुगेका हुन् ।

शिविरमा स्वास्थ्य परीक्षण लगायत भिडियो एक्स–रे, रगत परीक्षणका साथै रोगको प्रकृति अनुसारका सम्पूर्ण किसिमका साधारण औषधिहरु निःशुल्क वितरण गरिएको थियो ।

विराटनगर हस्पिटलमा लाग्ने शुल्कमा ८० प्रतिशत छुट गरी युरोलोजी–किड्नी सम्बन्धि सम्पूर्ण परीक्षण (आर.एफ.टी.) र ७५ प्रतिशत छुटमा भिडियो एक्स–रे सेवा उपलब्ध गराइएको थियो ।

संकलन गरिएको शुल्क स्थानीय आयोजकहरुलाई नै उपलब्ध गराइने हस्पिटलका समन्वय विभाग प्रमुख श्रीमन्त भट्टराईले बताए ।

विद्यूतको नपुगेको मानेडाँडामा जेनेरेटर मार्फत भिडियो एक्स–रे समेतको सेवा आफ्नै घरआँगनमा पाउँदा स्थानीय बासिन्दाहरु ज्यादै हर्षित भएका छन् ।

ढाड–कम्मरको समस्या भोगीरहेका सानोदुम्माका त्रिविक्रम दाहालको समयमै रोगको पहिचान गर्न पाइएकाले डाक्टरको सुझाव अनुसार अब तत्काल थोरापीका निम्ति सम्बन्धित अस्पताल जाने सहजता मिलेको बताए ।

यस किसिमको स्वास्थ्य शिविर दुर्गम क्षेत्रमा समय–समयमा आयोजना गर्न सकेमा स्थानीय सर्वसाधारणहरुलाई लाभप्रद हुने प्रतिक्रिया राख्छन् च्याङ्ग्रेबाट शिविर आएका किरण राई ।

शिविरमा दुङमा क्षेत्र बासिन्दाहरुको उल्लेख्य मात्रमा उपस्थिति रहेको थियो । बेलुकी अबेर सम्ममा कुल ३११ जनाको स्वास्थ्य परीक्षण गरिएको अभिलेख रहेको जानकारी मानेडाँडा माविका शिक्षक डिल्लीराज राईले जानकारी दिए ।

स्वास्थ्य परीक्षण गरी थप उपचारका निम्ति रेफर गरिएका रोगीहरुलाई विराटनगर स्थित न्याश्नल किड्नी हस्पिटलमा लाग्ने उपचार शुल्कमा पचास प्रतिशत छुट व्यवस्था गरिने अस्पतालले जनाएको छ ।

ग्रामिण पहाडी क्षेत्रमा विशुद्ध सामाजिक सेवा भावनाले सर्वसाधारण जनताहरुको स्वास्थ्य सेवा पहुच पु¥याउने साथै न्याश्नल किड्नी हस्पिटलको बारेमा सर्वसाधारणहरुलाई सही जानकारी गराउने प्रमुख उदेश्यका साथ स्वास्थ्य शिविर आयोजना गरिएको टोली प्रमुख एवम् अस्पतालका प्रवन्ध निर्देशक भोगेन्द्र खड्काले बताए ।

प्रवन्ध निर्देशक खड्काका अनुसार नेपालको पूर्वी क्षेत्रका अधिकांश किड्नी सम्बन्धि रोगको उपचार गर्न धेरै खर्च गरी भारत तर्फ लैजाने प्रचलन रहीआएको छ । हाल पूर्व क्षेत्रमै पहिलो पटक न्याश्नल किड्नी हस्पिटलमा सम्पूर्ण युरोलोजी उपचार सेवाहरु उपलब्ध रहेका छन् ।

प्रकाशित मिति: ७ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्