सूर्यविनायक वडा नं ९ मा पत्रकार केसी विजयी


 


भक्तपुर, जेठ ६

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ९ मा पत्रकार उपेन्द्र केसीको प्यानलै विजयी भएको छ ।

नेकपा (एमाले)बाट वडा नं ९ को वडाध्यक्षमा उम्मेदवारी दिनुभएका उपेन्द्र केसीको प्यानल नै विजयी भएको हो ।

केसीले कुल एक हजार २५८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका माधव खत्रीले ६८१ मत प्राप्त गर्नुभएको छ ।

विजयी हुनेमा महिला सदस्य जुनुमाया तामाङ, दलित महिला सदस्य अनु बयलकोटी, सदस्यमा श्रीराम व्याञ्जु र विनय महत रहनुभएको छ ।

केसी १३ वर्षसम्म छलफल साप्ताहिकका कार्यकारी सम्पादक हुँदै हाल आमसञ्चार डटकम अनलाइनका सम्पादक भएर कार्य गरिरहनुभएको छ । यसअघि उहाँ प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष हुनुहुन्थ्यो ।

सूर्यविनायक नगरपालिकामा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार वासुदेव थापाले अग्रता कायम गर्नुभएको छ ।

उहाँले १० हजार ६६९ मतसहित अग्रता कायम गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार विष्णुराज कार्कीले नौ हजार ६४५ मतले पछ्याइ रहनुभएको छ ।

त्यसैगरी, उपप्रमुखमा पनि एमालेका उम्मेदवार जुना बस्नेतले ११ हजार ५७३ मतसहित अग्रता लिनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार कल्पना राजथलाले आठ हजार ४०१ मतले पछ्याइरहनुभएको छ ।

सूर्यविनायक नगरपालिकाको वडा नंं १० को मतगणना सुरु भएको छ भने आज रातिसम्म अन्तिम परिणाम आउने सम्भावना छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्