चार प्रदेशमा मुख्य निर्वाचन कार्यालय सञ्चालन
काठमाडौँ, जेठ ६
दोस्रो चरणको स्थानीय तहको जेठ ३१ गते बुधबार हुने निर्वाचनका लागि आजदेखि ४३ जिल्लामा रहेका मुख्य निर्वाचन कार्यालय पूर्णरुपमा सञ्चालन भएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आजदेखि ४३ जिल्लामा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालय पूर्णरुपमा सञ्चालनमा आएको जानकारी दिनुभयो ।
प्रदेश नं १, २, ५ र ७ गरी चार प्रदेशमा हुने निर्वाचनमा रुकुम र नवलपरासी जिल्ला दुई प्रदेशमा परेपछि दोस्रो चरणको निर्वाचनमा ४३ जिल्लामा निर्वाचन हुन लागेको हो ।
दोस्रो चरणको निर्वाचन १२ उपमहानगरपालिका, १५६ नगरपालिका र २९३ वटा गाउँपालिका गरी ४६१ स्थानीय तहमा हुनेछ । यो निर्वाचनमा ९० लाख ९७ हजार ५५७ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन अधिकृतले जेठ १५ गते कार्यालय सञ्चालन गरेपछि कर्मचारीका लागि तालिम सञ्चालन गर्नेछन् ।
निर्वाचन कार्यक्रमअनुसार जेठ १९ गते उम्मेदवारको मनोनयन र जेठ २२ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ । कूल ४६१ स्थानीय तहमा हुने दोस्रो चरणको निर्वाचनमा ११ हजार ९३१ वटा मतदान केन्द्र रहनेछन् । रासस
प्रकाशित मिति: ६ जेष्ठ २०७४, शनिबार