पोखरामा पाँच दिनमा २५ प्रतिशत मतगणना, कसले कति जिते ?


 


पोखरा जेठ ५

पोखरा लेखनाथ महानगरपालिकामा मतगणना सुरु भएको पाँच दिनसम्म करिब २५ प्रतिशत मात्र मत गणना भएको छ ।

कुल ३३ वडा रहेको महानगरमा ११ वटा वडाको मात्रै अन्तिम नतिजा सार्वजनिक भएको छ । महानगरमा कुल खसेको एक लाख २५ हजार ९३२ मतमध्ये ११ वटा वडाको शुक्रबार साँझसम्म ३१ हजार ३७० मतको मात्रै अन्तिम नतिजा आएको छ ।

नतिजा सार्वजनिक भएको ११ मध्ये नेपाली काँग्रेसले पाँच वडामा प्यानलसहित र दुई वडामा मिश्रित परिणामसहित वडा अध्यक्ष पदमा विजय हासिल गरेको छ भने नेकपा (एमाले)ले तीन वडामा प्यानल र एउटा वडामा मिश्रित परिणामसहित वडा अध्यक्षमा विजयी भएको छ ।

मतगणनालाई छरितो बनाउन एक साथ चार वडाको छुट्टाछुट्टै स्थानमा गणनाको लागि ११ वटा समूह बनाइएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यालयले अबको पाँच दिनभित्रमा महानगरको सबै मतगणना सक्ने लक्ष्य राखेको छ ।

कांग्रेस मेयर उम्मेदवार रामजी कुँवर १३९००

एमाले मेयर उम्मेदवार मानबहादुर जिसी १४३९५

प्रकाशित मिति: ५ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्