प्रज्ञाले राष्ट्रिय वाङ्मय गोष्ठी आयोजना गर्दे
काठमाडौँ, जेठ ५
नेपाल प्रज्ञा–प्रतिष्ठानले जेठ ६ गतेदेखि तीन दिनसम्म प्रज्ञाभवन, कमलादीमा ‘राष्ट्रिय वाङ्मय गोष्ठी’ आयोजना गर्ने भएको छ ।
प्रतिष्ठानको हीरक महोत्सवका अवसरमा आयोजना गरिने वाङ्मय गोष्ठीमा नेपाली भाषा, मातृभाषा, कविता, आख्यान, समालोचना, अनुवाद, दर्शन, बालसासाहित्यका अलावा भारतीय नेपाली साहित्यको वर्तमान अवस्थादेखि सन् १९५०को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिका सम्बन्धमा विज्ञहरूबिच समूह छलफल चलाइने प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले जानकारी गराउनुभयो ।
उपकुलपति डा. विष्णुविभु घिमिरेका अनुसार प्रधानमन्त्रीद्वारा उद्घाटन गरिने वाङ्मय गोष्ठीमा वाङ्मयका विभिन्न विधामा बहस तथा सांस्कृतिक कार्यक्रमका साथै काव्यउत्सव समेत आयोजना गरिने छ । गोष्ठीमा देशका सात वटै प्रदेशका प्रतिनिधि स्रष्टाहरूका अलावा भारतका सिक्किम, असम, तेजपुर, डुवर्स, दार्जिलिङ, कालेबुङ र सिलगुढीबाट भारतीय नेपालीभाषी साहित्यकारहरूको सहभागिता रहने प्रतिष्ठानले जनाएको छ ।
प्रकाशित मिति: ५ जेष्ठ २०७४, शुक्रबार