माओबादी केन्द्रले गोरखामा खाता खोल्यो, तालमेल गर्दा पनि नयाँ शक्ति पराजित


 


गोरखा,  जेठ ४

नेकपा (माओवादी केन्द्र)ले सहिद लखन गाउँपालिकाको प्रमुख र उपप्रमुखमा जितेर गोरखामा विजयको खाता खोलेको छ । प्रमुखमा रमेश थापाले तीन हजार ८०८ मत ल्याउनुभयो भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कृष्णबहादुर आलेले तीन हजार ४०४ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, उपप्रमुखमा माओवादी केन्द्रकी इन्दिरा तिवारीले तीन हजार ७९८ मत प्राप्त गर्नुभयो भने निकतटम प्रतिद्वन्द्वी काँग्रेसकी शर्मिला श्रेष्ठले तीनहजार ५७५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि चुमनुब्री, सिरानचोक, अजिरकोट र गण्डकी गाउँपालिकामा काँग्रेसले विजय हासिल गरिसकेको छ । भीमसेन, आरुघाट, सुलिकोट गाउँपालिकामा मत गणना भइरहेको छ । यस्तै, गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा पनि मतगणना भइरहेको छ ।

गोरखाको धार्चे गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार सन्तबहादुर गुरुङ (सन्तोष) र फूलमाया गुरुङ क्रमशः प्रमुख र उपप्रमुख पदमा विजयी हुनुभएको छ । नेकपा (एमाले) र नयाँ शक्ति नेपाल पार्टीबीच तालमेल भई प्रमुख पदमा लडेका नयाँ शक्तिका लक्ष्मण गुरुङ पराजित हुनुभएको हो ।

प्रमुख पदमा विजयी सन्तबहादुरले एक हजार ७०९ मत ल्याउनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी नयाँ शक्तिका लक्ष्मणले एक हजार ६५६ मत प्राप्त गर्नुभयो । उपप्रमुखका काँग्रेसकी फूलमायाले एक हजार ५९५ मत ल्याउनुभयो भने नेकपा (माओवादी केन्द्र)की आशा गुरुङले एक हजार १२८ मत प्राप्त गरी पराजित हुनुभएको छ । रासस

प्रकाशित मिति: ४ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्