भरतपुर महानगरमा मतगणना १० ठाउँबाट गरिने
चितवन, जेठ २
भरतपुर महानगरपालिकाको मतगणनामा ढिलाई भएपछि आज रातिबाट मतपत्र मिलाउने र गन्ने काम १० ठाउँमा गरिने भएको छ ।
हालसम्म गन्ने र मिलाउने काम तीन ठाउँमा गरिंदै आएको थियो । एक ठाउँमा मिलाउने र दुई ठाउँमा गनिँदै आएकोमा गणनामा ढिलाई भएपछि जनशक्ति थप गरी धेरै ठाउँमा गणनाको काम गर्न लागिएको हो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार छ ठाउँमा मिलाउने र चार ठाउँमा गन्ने काम गरिँदैछ । गणनाको अन्तिम चरणमा पुगेको वडा नं. १ को गणना सकिएसँगै दश ठाउँमा गणनाको काम गर्न लागिएको हो ।
गणना धेरै ठाउँमा गर्दा मुख्य निर्वाचन अधिकृतले मात्रै अनुगमन गर्न नभ्याउने हुँदा प्रमुख जिल्ला अधिकारी, भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत, स्थानीय विकास अधिकारी र जिल्ला शिक्षा अधिकारीले सहयोग गर्ने सहमति भएको छ ।
मतपत्र मिलाउने ठाउँमा हरेक दलका दुई दुई जना र गणना गर्ने ठाउँमा उम्मेदवारसहित दुई दुई जना प्रतिनिधि रहने व्यवस्था गरिएको प्रजिअ भट्टले बताउनुभयो ।
प्रकाशित मिति: २ जेष्ठ २०७४, मंगलबार