कहाँ–कहाँ मतगणना हुँदैछ ?
काठमाडौं, जेठ १
पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत आइतबार भएको मतदानमा केही ठाउँको मतगणना सुरु भएको छ । मतपेटिका संकलन गरेलगत्तै ती ठाउँमा रातीदेखि नै मतगणना सुरु भएको हो ।
सबैभन्दा चासोको रुपमा हेरिएको भरतपुर, काठमाडौं र पोखरा लेखनाथ महानगरपालिकाको मतगणना सोमबार मात्र हुनेछ । ललितपुर महानगरपालिकाको मतगणना भने सुरु भएको छ ।
यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका, महाँकाल र कन्ज्योसोम गाउँपालिकामा मतगणना सुरु भएको छ । काठमाडौंको शंखरापुर, चन्द्रागिरी, टोखा, दक्षिणकाली र कीर्तिपुरमा पनि मतगणना भैरहेको छ ।
मनाङको चामे र नाशोङ गाउँपालिका तथा रुकुमको मुसिकोट नगरपालिका, बाँफिकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा पनि मतगणना सुरु भएको छ ।
नवलपरासीको कावासोती, देवचुली, मध्यविन्दु र गैंडाकोट तथा काभ्रेको वनेपा नगरपालिकामा पनि मतगणना भैरहेको छ ।
सल्यानको शारदा नपामा अहिले राति १ बजेदेखि मतगणना शुरू भएको छ । मतगणना जिल्ला समन्वय समितिको हलमा भैरहेको हो ।
यस्तै छत्रेश्वरी गाउँपालिका सल्यानमा २ बजेदेखि मतगणना शुरू भएको छ । नुवाकोटको बिदूर नगरपालिकामा पनि मतगणना भैरहेको छ ।
जुम्लाको चन्दनाथ नगरपालिकामा पनि मतगणना भैरहेको छ ।
एकसय १२ मत गणना भैसक्दा मेयरमा कांग्रेसको ६६, एमालेको १० र माओवादीको २८ मत आएको छ ।
चितवनको कालिका नगरपालिका बाहेक अरु ठाउँमा बिहानदेखि मतगणनाको तयारी छ । भक्तपुरका चारवटै नगरपालिकामा आज बिहानदेखि मतगणना हुने भएको छ ।
प्रकाशित मिति: १ जेष्ठ २०७४, सोमबार