एक सय १५ वर्षीया लामिछानेबाट मतदान
नुवाकोट, वैशाख ३१
ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली लामिछानेले स्थानीय तहको निर्वाचनमा मतदान गर्नुभएको छ ।
उहाँले ककनीगाउँपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँले छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गर्नुभएको मतदान अधिकृत रामस्नेही मण्डलले जानकारी दिनुभयो ।
विसं १९५९÷१२÷१० मा जन्मनुभएका लामिछानेले मत दिएपछि मुलुकमा शान्ति र विकास आउने आशा गरेको बताउनुभयो ।
यस्तै, जिल्लाको दुप्चेश्वर गाउँपालिका–५ का १०४ वर्षीया तुलसीकुमारी खत्रीले मतदान गरी महादेव मावि मतदान केन्द्रको शुभारम्भ गर्नुभयो ।
यता, सूर्यगढी गाउँपालिका–३ का १०१ वर्षीय अनन्तप्रसाद अधिकारीले मतदान गर्नुभयो । मतदान अधिकृत सिंहबहादुर तामाङका अनुसार बागेश्वरी मावि मतदान केन्द्रबाट अधिकारीले मतदान गरी शुभारम्भ गरिएको हो ।
लमजुङमा ९३ वर्षीया गुरुङद्वारा मतदान
त्यसैगरी लमजुङमा ९३ वर्षीया नैनाकुमारी गुरुङले मतदान गर्नुभएको छ ।
दूधपोखरी गाउँपालिकाअन्तर्गत बालोदय आधारभूत माविमा रहेको मतदान केन्द्रमा गुरुङले मतदान गर्नुभएको निर्वाचन अनुगमनमा खटिनुभएका सहसचिव शङ्करप्रसाद खरेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति: ३१ बैशाख २०७४, आइतबार