पूर्व प्रजिअ पौडेल भन्छन् -“निर्वाचन आचारसंहिता उलङ्घन हुँदा पनि आयोग सागजस्तो गलेको छ”
काठमाडौँ , वैशाख ३०
“हामीले पनि निर्वाचन गराएका हौँ, अरु निर्वाचन पनि देखेको हौँ, अहिलेको जस्तो निर्लज्ज निर्वाचन त देखिएको थिएन ।”
नेपालका सरकारका एक पूर्व प्रमुख जिल्ला अधिकारी आनन्दराम पौडेलले स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा आचारसंहिताको व्यापक उलङ्घन भएको दाबीसहित भने, “निर्वाचन आयुक्तलाई प्रधानमन्त्रीले चाहेको बेलामा बोलाएर निर्देशन दिने, एकाएक दुई चरणको निर्वाचन घोषणा गर्ने र सरकारी बजेटको रकमान्तर गर्ने यस्तो काम घीनलाग्दो छ ।”
विसं. २०५४ मा स्थानीय निकायको निर्वाचन हुँदा पौडेल तनहुँको प्रजिअ थिए । गृहमन्त्री वामदेव गौतम, प्रमुख निर्वाचन आयुक्त विष्णुप्रताप शाह र गृहसचिव रेवतीरमण पोखरेले भएको स्मरण गर्दै उनले माथिबाट वा कुनै दलबाट आफूहरुलाई कुनै प्रकारको दबाब र प्रभाव नभएको अनुभव सुनाउँछन् ।
गृहमन्त्री वामदेव हुँदा एमालेले बढी स्थानमा विजय हासिल भएको भन्ने टिप्पणीका अझै पनि सुनिने गरे पनि पौडेलले स्पष्ट शब्दमा भने, “गृहमन्त्रीको त के कुरा, उनका स्वकीय वा निजी सचिवबाट पनि हामीलाई निर्वाचनका सन्दर्भमा कुनै आशय आएको थिएन, हामीले निर्धक्करुपमा निर्वाचन सम्पन्न गरेका थियौँ ।”
आइतबार हुन लागको स्थानीय तहको निर्वाचनमा सरकारले व्यापक आचारसंहिता उलङ्घन गर्दा पनि निर्वाचन आयोग मौन बसेकामा उनको आक्रोस छ । उनी भन्छन्, “त्यसबेला विष्णुप्रतापको कस्तो अडान हुन्थ्यो, सरकारले एकरति पनि यता उता गर्न सक्दैनथ्यो ।
अहिलेका आयुक्तहरु त सागगले जस्तो फत्रक्क गलेका छन् । यस्तै हो हो निर्वाचन आयोगको गरिमामा आँच आउन सक्छ ।”
हैटौडा उपमहानगरपालिका ११ नवलपुरका पौडेल साहित्यकार र विश्लेषक पनि हुन् । सामाजिक सञ्जालमा आफूलाई लागेको कुरा निर्धक्क र प्रभावकारी रुपमा राख्दै आएका पौडेललाई के निर्वाचन आयोग सागजस्तो भएकै हो त भनी प्रश्न गर्दा जवाफ दिन्छन्, “यसमा कुनै दुईमत छैन, कसैलाई थप आधार चाहिए म दिन सक्छु, मेरो मोबाइल नम्बर ९८३७४६४० मा सम्पर्क गर्न भनिदिनोस् ।”
(प्रकाश सिलवालसँगको कुराकानीमा आधारित)
प्रकाशित मिति: ३० बैशाख २०७४, शनिबार