निर्वाचनका दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान के हुन्छ ?


 


काठमाडौँ, वैशाख २९

निर्वाचनको दिन वैशाख ३१ गते उपत्यकामा सवारीसाधन नचले पनि मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान नियमित हुने भएको छ ।

निर्वाचनको दिन विमानस्थलका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सेवालाई नियमित बनाउन आवश्यक व्यवस्था गरिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

उहाँका अनुसार वैशाख ३१ गते यात्रुलाई विमानस्थलदेखि गन्तव्यसम्म आवतजावतलाई सहज बनाउन पर्यटक बस र साझा यातायातलाई सेवा सञ्चालनका लागि आग्रह गरिएको छ ।

विमानस्थलमा चल्ने ट्याक्सीले निर्वाचन आयोगबाट कम पास पाएकाले नचलाउने निर्णय गरेकाले थप यातायातको व्यवस्था गरिएको विमानस्थलले जनाएको छ । हाल विमानस्थलमा २०८ भाडाका ट्याक्सी गुड्ने गरेकामा ३५ वटाले मात्र ‘पर्मिट’ पाएका छन् ।

थोरैले चलाउने हुँदा आपसमा झगडा हुने भएकाले सबै ट्याक्सी नचलाउने निर्णय भएको बताइएको छ ।

विमानस्थलले आफ्ना तीनवटै ‘सिफ्ट’का कर्मचारीलाई आवतजावतका लागि पाँच वटा सवारीसाधनको व्यवस्था गरिएको प्रवक्ता ठाकुरले बताउनुभयो ।

त्रिअविमा अहिले अन्तर्राष्ट्रियतर्फ ९० र आन्तरिकतर्फ ३०० बढी दैनिक उडान हुँदै आएको छ । अन्तर्राष्ट्रियमा २८ र आन्तरिकतर्फ हेलिकप्टरसहित २० वायुसेवा कम्पनीले दैनिक उडान भर्दै आएका छन् ।

यात्रु तथा पर्यटकलाई बस सेवा

विमानस्थलका पर्यटक तथा यात्रुको सुविधालाई मध्यनजर गर्दै नेपाल पर्यटन बोर्डले निर्वाचनका दिन उपत्यकाका विभिन्न चार वटा रुटमा पर्यटक बस चलाउने भएको छ ।

विमानस्थलदेखि पाँचतारे होटललाई लक्षित गरी चार वटा रुटमा पर्यटक बस चलाउने नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले जानकारी दिनुभयो ।

यो सेवा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फका यात्रुलाई दिइनेछ । बोर्डले विगतका बन्द हडतालका बेला सेवा दिइ रहेकै चार वटा रुटमा पहिलो उडानदेखि अन्तिम उडानसम्म बस सञ्चालन गरिनेछ । रासस

प्रकाशित मिति: २९ बैशाख २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्