लालबन्दीमा काव्य उत्सव
काठमाडौँ, वैशाख २९
सर्लाही जिल्लाको लालबन्दीमा काव्यउत्सव आयोजना गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान (काव्यविभाग) र सर्लाही साहित्य समाज, लालबन्दीद्वारा सङ्युक्त रूपमा आयोजित काव्यउत्सवमा सर्लाहीको काव्यमाथि विमर्श गरिनुका साथै काव्यवाचनसहित काव्यउत्सव मनाइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा–प्रतिष्ठानका काव्यविभाग प्रमुख प्राज्ञ डा. अमर गिरीले राजधानी र मोफसलको दूरी कम गर्ने, मोफसलमा काव्यिक जागरण ल्याउने र समकालीन नेपाली कविताका क्षेत्रमा सर्लाही जिल्लाको योगदान के छ भनेर संवाद र विमर्श गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
प्रतिष्ठानले हीरक महोत्सव मनाइरहेको सन्दर्भमा देशका विभिन्न भागमा वाङ्मयिक कार्यक्रमहरूको आयोजना गरिएको सुनाउँदै गिरीले आत्मिक विकासका लागि कविताको अहम् भूमिका रहने उल्लेख गर्दै कवितालेजस्तो आत्मिक र मानसिक आनन्द अरु कुराले दिन नसक्ने धारणा व्यक्त गर्नुभयो ।
काव्यविभाग सदस्य प्राज्ञ शशी लुमुम्बूले हिमाल, पहाड र तराईलाई एकताको सूत्रमा बाँध्न साहित्यिक कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
कार्यक्रम सुमनप्रसाद घिमिरेले ‘समकालीन नेपाली कवितामा सर्लाहीको योगदान’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि विप्रहरि दाहाल र पार्थमणि भट्टराईले टिप्पणी गर्नुभएको थियो ।
वैशाख २७ र २८ गते दुई दिनसम्म चलेको काव्यउत्सवमा कुमार दाहाल, रुपक जमरा, रमेश पोखरेल, जीवन आचार्य, धु्रवराज गिरी ‘रोदन’, घनश्याम पन्त, परशुराम घिमिरे ‘निदान’, शान्ति लामा, चन्द्रबहादुर जिम्बा, कृष्ण दाहाल, रञ्जना घिसिङ, निर्मला भण्डारी, भाष्कर काजी, रिता कोइराला, विवश पौडेल, विमला बुढाथोकी, रमा दाहाल, सुवेदी, रामनरेश महतो, गङ्गा मैनाली, एसपी बराल, लीलाप्रसाद चौलागाईं, रमा न्यौपाने, आशनारायण चौधरी, कृष्ण थपलिया, गोकुल सुवेदी, पवित्रा घिमिरे, अम्बिका पौडेल लगायतका कविहरूले कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा सर्लाही साहित्य समाजकी अध्यक्ष मीना देवकोटा, उपाध्यक्ष राजेश्वरी काफ्ले, सचिव उत्तम दाहाल, सर्लाहीका वरिष्ठ साहित्यकार पार्थमणि भट्टराई, सर्लाही बहुमुखी क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष आभूषण चौलागाईं, समाजसेवी शिव न्यौपाने, उमाकान्त साह, रेणुकान्त ढुङ्गाना, पुष्कर घिमिरे, यामिनीकुमार दीप, अच्युत अधिकारीलगायतले सर्लाहीको साहित्यबारे मन्तव्य राख्नुभएको थियो ।
प्रकाशित मिति: २९ बैशाख २०७४, शुक्रबार