राजहाँस नबनेका न्यायमूर्ति, राजनेता नबनेका नेता


 


संकेत कोइराला
को शक्तिशाली भन्ने विषयलाई लिएर भगवान विष्णु र देवराज इन्द्रबीच बहस चल्यो । बहसको निष्कर्ष नसकिँदै इन्द्रलाई सनक चढ्यो ।

उनले १२ वर्षसम्म पृथ्वीमा एक थोपा पानी बर्साउन नदिने घोषणा गरे । इन्द्रको विश्वास थियो– ‘पृथ्वीबासीको रक्षाका लागि सम्पूर्ण देवगण मेरो शरणमा आउने छन् ।’

यही सोचेर उनले मेघलाई वर्षा नगराउने आदेश दिए । तत्काल वर्षा रोकियो । वर्षा रोकिएपछि मानव लोकमा कोकोहोलो मचिएला भन्ने इन्द्रको विश्वासले चित खायो ।

यदि एकदशक हामीहरुले आफ्नो कर्म विर्सियौं भने सन्ततिले कर्मको बाटो विर्सन सक्छन् । यो सोचेर किसानहरु खडेरीमा गएर खेत जोत्न थाले । खडेरीमा किसानले खेत जोतेको देखेर भ्यागुतोले आश्चर्य प्रकट ग¥यो ।

किसानले उसलाई पनि आफ्नो कर्ममा लीन हुन सम्झायो । भ्यागुतोले पनि सोच्यो– यदि मैले पानी नआएको भने टर्टराउन विर्सिएँ भने त्यो मेरो धर्म विपरीत हुन्छ । उ पनि घोक्रो तानी तानी टर्टराउन थाल्यो ।

भ्यागुतो टर्टराएको सुनेर आश्चर्यचकित हुँदै मयूरले अनर्थको काम नगर्न सल्लाह दियो । मयूरलाई सम्झाउँदै भ्यागुतोले भन्यो– ‘मयूर भाइ, हामीले हाम्रो कर्तव्य कहिल्यै विर्सनु हुँदैन ।

आफ्नो कर्तव्यबाट हात धोयौं भने भावी पुस्तालाई हाम्रो कर्मको ज्ञान कसरी हुन्छ ? हाम्रो अधिकार भनेको कर्म गर्नु हो । कर्म गरेपछि फल नपाइने कुरै छैन ।’ भ्यागुताको कुरा मयूरलाई चित्त बुझ्यो । उ पनि विन्दास ढंगले पखेटा फिँजाएर नाच्न थाल्यो ।

आफ्नो आदेश कार्यान्वयन भएको हेर्न इन्द्र पृथ्वीमा झरे । उनी जताततै कोलाहल मच्चिएको हेर्न लालायित थिए । तर आश्चर्य सवै आफ्नो काममा निर्लिप्त देखेर इन्द्रले इन्द्रको होस हवास उड्यो ।

उनले व्यर्थको मेहनत नगर्न किसानलाई आग्रह गर्दा उल्टो किसानले भनिदिए– ‘तपाईं आफ्नो काम गर्न नगर्न स्वतन्त्र हुनुहुन्छ तर हामीलाई हाम्रो कार्म गर्न दिनुस् । किनकी कर्म नै हाम्रो धर्म हो ।’

किसानको भनाइले इन्द्रको आँखा खुल्यो । उनलाई लाग्यो– ‘आज जुन देवराज इन्द्रको पद मैले पाएको छु, त्यो मेरो कर्मका खातिर हो । यदि कर्मबाट च्यूत भएँ भने संसारले गर्ने आदर सम्मानबाट म वञ्चित हुन्छु ।

बद्नामी बाहेक मेरो हात केही लाग्ने छैन ।’ उनले तत्काल मेघलाई पानी बर्साउन आज्ञा दिएर गल्तीको प्रायश्चित गर्दै स्वर्गलोक फर्किए ।

भनिन्छ– सबैभन्दा सत्य कहानी भट्टीले सुनेको हुन्छ भने भने भूmठो प्रलापको साक्षी अदालत बन्ने गर्छ । न्यायमूर्तिहरु कानले हेर्छन ।

जब आँखाले हेर्नेहरुको आतंक बढ्छ, तब कानले हेर्नेहरु चनाखो हुन्छन् । को ठीक, को बेठीकको बहस आफ्ना ठाउँमा छ । तर सत्य चाहिँ के हो भने जब झण्डेहरुको बाक्लो उपस्थितिले कार्यपालिका र न्यायपालिकाबीच अन्तर भेटिन्न तब यस्ता घटना स्वाभाविक हुन् ।

न्यायाधीश नियुक्ति गर्दा हाम्रा नभई राम्रालाई ठाउँ दिइएको भए अहिले यो अवस्था आउने नै थिएन । यी सवै भष्मासुरलाई बरदान दिएको परिणाम हो ।

बिन लादेन र सद्दाम हुसेन अमेरिकाको पालनपोषणमा हुर्किएका पात्र थिए । कालान्तरमा तिनै पात्रको टाउको दुखाईबाट आजित अमेरिकाले साम, दाम, दण्ड भेदको बाजी राखेर सिध्याउनु प¥यो ।

यो त टेलर मात्र हो, भागवण्डाको राजनीति नसच्चिने हो भने कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका मात्र हैन, भोलिका दिनमा यी शक्तिको साँचो फेसबुके मास्टरले खोस्न सक्छन् ।

यहाँ समस्या चारआना तर समस्यालाई हेर्ने दृष्टिकोण बारआनाको हुँदा समस्याको चाङ लाग्दै गएको छ । यो देशका नागरिक, यहाँका ठूला मानिस र मिडियाको चरित्र एकछिन सामाजिक सञ्जालमा हेर्दा ऐना हुन्छ ।

उत्ताउलो राजनीतिक नेतृत्वलाई लगाम लगाएका संसारमा थुप्रै उदाहरण छन् । छिमेकी मुलुक भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीले पाकिस्तानी सेनाका एक लाख जतिलाई बन्दी बनाइन ।

पाकिस्तान टुक्राएर दुई स्वतन्त्र देश बनाइन । सिक्किमलाई भारतमा बिलय गरिन । दक्षिण एशियाका कुनै शासक उनलाई आँखा उठाएर हेर्न सक्दैनथे । अटलविहारी बाजपेयीले त गान्धीलाई ‘रणचण्डी’ उपाधि दिए ।

धाँधली र सरकारी बलको प्रयोग गरी उनले पश्चिम बंगालको चुनावमा सीपीएम पार्टीलाई चुनाव बहिष्कारका लागि बाध्य पारिन । त्यसपछि कांग्रेसको एकलौटी शासन चलाइन । तर जगमोहनलाल नामका न्यायाधीशले इन्दिरा गान्धीले गराएको चुनाव कानुनी खिलाफ भएको भन्दै बदरको घोषणा गरिदिए ।

यो फैसलाले सम्पूर्ण भारत हल्लियो । एउटा न्यायाधीशको फैसलाले सर्वशक्तिमान इन्दिरा गान्धीले शक्ति र सत्ताबाट हात धुनुप¥यो । करोडौंकी ‘राजमाता’ भनिएकी गान्धी चुनावमा नराम्रोसंग पछारिइन । ‘म नै राज्य हुँ’ भन्ने लुईस चौधौंको अहं अरुमा रुपान्तरण हुन्छ, तब यस्ता घटना स्वाभाविक बन्दै जान्छन् ।

नेताहरु विरुद्ध फेसबुके राजनीति छोडेर जनता पाखुरी बजार्ने काममा अग्रसर भएको भए आज पुष्पकमल दाहाल, शेरबहादुर देउवा, केपी ओलीजस्ता शीर्ष नेताहरुको अवस्था देवराज इन्द्रको जस्तो भइसक्ने थियो ।

राष्ट्रिय झण्डाले लपेटिएका फोटाहरु सामाजिक सञ्जालमा पोतेका युवाहरुले लाटोले बाउ घुक्र्याएजस्तो नेतामाथि खनिनुमा आफ्नो वीरता देखे ।

भारतीय नाकावन्दीताका उनीहरु १ लिटर तेल पाउन चारदिनको निद्रा मार्न तयार भए तर निर्भरताको अध्याय थाल्ने जाँगर कतै देखिएन ।

चैतमा हलोका सियोमा मकै छरेर भारत पसेको एउटा ठिटो ५ महिनापछि आपैंmले रोपेको मकैको बोटलाई ‘ए लम्बा लम्बा पतेवाला पेड क्या हे’ भन्ने खालको तोरी लाउरे भएर निस्कनेलाई क्रान्तिकारीको दर्जा दिएर राजहाँस बनायौं ।

जसले राजनीतिक कोलाजभित्रको रंग झन्झन् फिका देखिन थाल्यो । सिंहदरबारको कुर्सीमा आसिन शासकभन्दा सिंहदरबार भजाउने दलालहरु शक्तिशाली बन्दै गए ।

देशका विषय विज्ञहरु आफ्नो विषयमा कम अरु विषयमा बढी चतुर भएर निस्कन थाले । कालो कोट लगाउने वकिलहरु वकालतभन्दा जग्गा बेचबिखनको धन्दामा जमे । पत्रकारको कलम लेखाइमा थोरै, दाइहरुलाई सल्लाह दिन धेरै विक्न थाल्यो ।

सम्पत्तिका नाममा जसको एउटा चिउरा मिल नभएकाहरु निजीक्षेत्रका नेता दरिए । राजनीतिको पहिलो खुड्किलोमै पछारिएकाहरु मानवअधिकारवादी र नागरिक समाजका प्रतिनिधिको अवतारमा अनुवाद भए ।

जिन्दगीमा जसले एउटा पुस्तक सग्लो पढेको छैन, तिनीहरु देशलाई काम नलाग्ने डाक्टरको पदवी बोकी स्वघोषित बुद्धिजीवी भएर शहर पसे । बैंकहरुले कालोसूचिमा नाम डामेकाहरु खुल्ला अर्थतन्त्रका मतियार भए ।

सिंहदरबार यस्तो ७६ औं जिल्ला प्रमाणित भएको छ, जहाँ पस्दा मै हुँ भन्ने माइकलाल फर्किंदा रुझेको विरालो बन्दै निस्किएका छन् ।

एक नदीका दुई किनार जस्तो लाग्ने निजामती प्रशासन र सरकारबीचको ट्युनिङ मिलाउन सकिएन भने सम्पूर्ण राजनीतिक प्रतिवद्धता गँजडी गफ शिवाय केही नहुने पक्का छ ।

निजामती सेवाको अभिभावकत्व ग्रहणसंगै जवाफदेही बनाउन सकियो भने सरकारको सफलता त्यहाँबाट शुरु हुन्छ । भारत, चीन, अमेरिकाले सरकार सफल पारिदिन्छन् भन्ने चिन्तन उहिल्यै खोटो मोहोर सावित भइसकेको छ ।

यो फर्मूला विश्व दुई शक्ति राष्ट्रमा विभाजित हुँदा ताकाको कोल्ड वार समयको भूत मात्र हो । अहिलेसम्म पनि त्यही खोटो मोहोर विकाउनेहरुको दबदबाबाट मुक्त हुन नसक्नु ओरालो यात्राको प्रमुख कारण हो ।

कृष्णलाल अधिकारी मकैको खेती पुस्तक लेखेको अभियोगमा मारिए । आज पनि मकैमा खुम्ले लाग्छ । विज्ञले त्यसको ओखती बताउँछन् । तर सत्ता र शक्तिबाट अन्धो मानिस कति भयभीत हुँदोरहेछ भने खुम्ले र आपूmमा अन्तर देख्दोरहेनछ ।

कृष्णलाल मारिएपनि उनको लेखनी सत्यबाट डगमगाएको छैन् । मकैको खेती पुस्तकको भूमिकामा भनिएको छ– …. सरकारले आफ्ना देशका कुकुरहरु भन्दा विदेशी कुकुरहरुको बढ्ता मान गर्छ तर चोर डाकाहरुबाट हाम्रो रक्षा गर्ने बखत गद्दामा सुत्ने विदेशी कुकुरहरु काम लाग्दैनन् । स्वदेशी कुकुरहरु नै काम लाग्छन् ।’

पूरा विश्व ढुकुर मार्ने बन्दुकमा भर परिरहेका बेला मेसिन गन बनाउने गेहेन्द्रशम्शेरको उत्साहले निरन्तरता पाएको भए, चीनको इच्छाशक्ति जापानसम्म पु¥याएर युद्धविराम गराइदिएकोमा टंकप्रसाद आचार्यलाई नोबेल शान्ति पुरस्कार र लक्ष्मीप्रसाद देवकोटालाई नोबेल साहित्य पुरस्कार प्रदान गरिसकिएको हुने थियो ।

ती सुखद दिनको प्रारम्भ भइदिएको भए आज नेपाली शिष्ट, सभ्य, सुसंस्कृत नेपालका समृद्ध नागरिक बन्ने थिए । राज्य भनेको एउटा त्यस्तो अकाट्य शक्ति हो, जसले अहिले मात्र हैन, २० वर्षपछि जन्मिनेहरुको पनि भविष्य सुरक्षित गरिदिनु पर्छ ।

नेताहरु थुन्ने पनि अरु नै, छुटाउने पनि अरु नै । कुर्सीमा आसिन गराउने पनि अरु, खँदार्ने पनि अरु नै । शायद मर्दहरु नामर्दको सुरक्षामा बसेपछि यस्तै हुन्छ ।

कसैप्रतिको आग्रह, पूर्वाग्रह होइन । इतिहास साक्षी छ । २००४ सालमा नागरिक स्वतन्त्रताको माग गर्दै आन्दोलन चर्किदो थियो । नजरबन्दमा रहेका बीपी कोइरालाको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएको थियो ।

भारतीय नेताहरु महात्मा गान्धी, डा. राममनोहर लोहिया, डा. राजेन्द्रप्रसाद, डा. श्यामप्रसाद मुखर्जीहरुले मानवताको नाताले रिहाईको माग गर्दै नेपाल सरकारलाई चिट्ठी लेखेका थिए ।

पद्मशम्शेरका नाममा लोहियाले लेखेको पत्रमा भनिएको छ– ‘श्रीकृष्णप्रसाद उपाध्याय महात्मा गान्धी र मेरो पत्र लिएर तपाईलाई भेट्न आउँदैछन् । श्री विश्वेश्वर प्रसाद कोइरालाको अवस्था मरणासन्न अवस्थामा पुगेको यहाँ सुन्नमा आएको छ ।

उनलाई बम्बई ल्याउन सके एकपटक बचाउने कोशिस गर्न सकिन्थ्यो । मलाई विश्वास छ यी युवकको मृत्युबाट हामी सवैलाई ठूलो क्षति हुन्छ । यिनलाई जेलमुक्त गरेमात्र बचाउने थोरै आशा बाँकी रहन्छ ।

विश्वेश्वरको रिहाई नेपाल भारत दुवैका लागि कल्याणकारी हुन्छ । आशा छ– तपाईंको तर्पmबाट मानवीय कर्म हुनेछ ।’ यता पद्यशम्शेरले पनि प्रजातन्त्रको माग गर्दै सत्याग्रहमा उत्रिएकाहरुको माग सम्बोधन गर्नकै लागि नेहरुसंग आग्रह गरेका थिए ।

सोही प्रयोजनका लागि नेहरुले आप्mना अत्यन्तै निकट श्रीप्रकाशजीको नेतृत्वमा रघुनाथसिंह, रामउग्रसिंहजस्ता कानुनविद् नेपाल पठाइदिए ।

आन्दोलन भइरहेकै अवस्थामा मातृकाप्रसाद कोइराला र गणेशमानसिंह नेहरुलाई भेट्न गए । नेहरुले भनेका थिए– तपाईंहरु के का आधारमा विवरण दिनुहुन्छ थाहा छैन मलाई ।

मैले पनि आफ्ना चारजना प्रतिनिधिहरु पठाएँ । जसमध्ये दुईजना विश्वासपात्र र भरपर्दो चरित्रका थिए । तिनीहरुले त तपाईंहरुले भन्दा बिल्कुलै अर्कै प्रकारका खबर ल्याए । तपाईंहरुले एक्कैचोटि धेरै आशा गर्नुहुन्न ।

तिनीहरुले महाराजलाई एकान्तमै भेटेका थिए । महाराजको भनाइ छ– ‘सुधारको प्रगति आन्दोलनले गर्दा पछाडि घचेटिएको हो ।’ दोहोरो चरित्रको यस्तो कुटिल राजनीति अहिले झन् पेचिलो बन्दै गएको छ । पहिला त कम्तिमा संवाद हुन्थ्यो, अहिले त इसारामा काम तमाम् हुन्छ ।

छिमेकी देशको मात्र होइन, बेलायत पुगेर आएपछि महत्वाकांक्षी बनेका जंगबहादुरले केही साँच्चै ऐतिहासिक काम गरे । गोराहरुको ढाड्स पाएका जंगबहादुरले पहिले आपूmलाई राणाजी बनाए ।

आफ्ना भाइभारदारलाई शक्तिकेन्द्रमा पु¥याए । भाइहरुको विवाह राजा खलकसंग मात्र गराएनन, आफूलाई श्री ३ घोषणा गरेर राजपाटमा प्रभाव जमाए । यसखाले व्यक्ति केन्द्रित राजनीतिले केही समयका लागि व्यक्ति शक्तिशाली देखिएपनि राज्य झन्झन् कमजोर बन्ने रहेछ ।

मानिसहरु भन्छन–नेपालमा सुन महँगो छ । तर हैन, सुनभन्दा कानुन, शिक्षा र स्वास्थ्य महँगो छ । माखामुन्द्रो बेचेर अदालत, स्कुल र अस्पताल धाउने मानिसको संख्या लेखो लाएर साध्य छैन् ।

नागरिकका लागि राज्यले आधारभूत रुपमा उपलब्ध गराउनुपर्ने विषय नै दलालीका भरपर्दो साधन भएका छन् । नगरपालिकाले आफैले आफै‌लाई धान्न नसकेको देशमा संघीयता नामको चरीले आतंक मच्चाएको छ ।

युरोपियन युनियन भएर एउटै मुद्रा एउटै कानुन चलाउने देशहरु नेपालमा संघीयता र धर्मको खेतीपाती चलाइरहेका छन् । उनीहरु एकाकार हुनु समयको माग हो भने पूर्वीय सभ्यताको जननी मानिने भारत वर्षको पुर्नपुष्टि गर्नु पनि हाम्रो दायित्व हो ।

किलो जमिनमा ठोकिन्छ, पानीमा होइन । त्यसरी नै जनतालाई नछोएको राजनीति नभएर गोरखधन्दा मात्र हो ।

प्रकाशित मिति: २९ बैशाख २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्