शंकर पोखरेल भन्छन्–एमालेले ६० प्रतिशत स्थानमा जित्छ


 


काठमाडौँ, वैशाख २८

नेकपा (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले ६० प्रतिशतभन्दा बढी स्थानमा विजय हासिल गर्ने जिकिर गर्नुभएको छ ।

एमाले प्रचार तथा प्रकाशन विभागले यहाँ आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पोखरेलले राष्ट्रियता र समृद्धिका लागि आफ्नो पार्टीको स्पष्ट सोच र अडान भएको तथा स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन विगतमा भूमिका खेलेका कारण देशव्यापी लहर आएको विचार व्यक्त गर्नुभयो ।

उहाँले राष्ट्रिय स्वाधीनता र स्वाभिमानका लागि एमाले नेतृत्वको अघिल्लो सरकारले घुँडा नटेकेकाले पनि यसप्रति जनताको समर्थन आएको र यसबाट तर्सिएर सरकारमा रहेका दलबीच चुनावी तालमेल भएको तर्क गर्नुभयो ।

कामपामा पदयात्रा

एमालेले काठमाडौँ महानगरपालिकाको चुनावी प्रचारप्रसार अभियानको अन्तिम दिन आज विभिन्न वडामा चुनावी पदयात्रा निकालेको छ ।

एमालेले कामपा वडा नं २, ४ र ५ वडामा पदयात्रा निकालेको ३ नं प्रदेशका सदस्य नारायण सिलवालले जानकारी गराउनुभयो ।

तीनै वडामा निकालिएको पदयात्रामा एमालेबाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्य सहभागी हुँदै महानगरलाई व्यवस्थित बनाउन आफ्नो जित आवश्यक रहेकाले जिताउन आग्रह गर्नुभएको थियो ।

प्रकाशित मिति: २८ बैशाख २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्