माओवादीद्धारा एमाले कार्यकर्ताको हत्या


 


दोलखा, वैशाख २७

दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जुँगुमा गएराति नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का कार्यकर्ताबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ भने करिब आधा दर्जन घाइते भएका छन् ।

गौरीशङ्कर गाउँपालिका–१ जुँगु दहबारीमा भएको झडपमा ३३ वर्षीय एमाले कार्यकर्ता कुलबहादुर तामाङको ज्यान गएको हो । मृतक तामाङ स्थानीय हुप्पा गाउँ निवासी हुन् ।

यसैगरी, झडपका क्रममा गौरीशङ्कर गाउँपालिका–२ घर भएका एमाले कार्यकर्ता दिलबहादुर बुढाथोकी गम्भीर घाइते भएका छन् । घाइते बुढाथोकीलाई गएराति नै थप उपचारका लागि काठमाडौँ लगिएको छ । घाइते बुढाथोकी स्थानीय नीलकण्ठेश्वर उच्च माविका शिक्षक पनि हुन् ।

दोहोरो झडपमा परी नेकपा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षका उम्मेदवार भरत खड्कालगायत कार्यकर्ता घाइते भएका छन् । घटना गएराति करिब साढे ९ बजे भएको हो ।

त्यस विषयमा प्रहरीले आवश्यक कारबाही गर्नुअगावै माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच ज्यानै जाने गरी झडप भएको हो ।

नेकपा एमाले दोलखाका नेताहरुले माओवादीले आफ्ना कार्यकर्तामाथि आक्रमण गरी ज्यान लिएको बताएको छ । घटनापछि जुँगुका मतदातामा त्रास फैलिएको छ भने व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति: २७ बैशाख २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्