वडा सदस्यका उम्मेदवार सहित चट्याङ लागेर ३ जनाको मृत्यु


 


चितवन, वैशाख २६

कालिका नगरपालिका– ११ खोलागाउँका नेकपा माओवादी केन्द्रका तर्फबाट वडा सदस्यका उम्मेदवारको आज बिहान चट्याङका कारण मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीयवासी ३९ वर्षीय सिफल प्रजाको चट्याङले मृत्यु भएको हो । प्रहरीका अनुसार आज बिहान ३ः३० बजे चट्याङ परेका बेला बेहोस भएका प्रजालाई उपचारका लागि बिहान ६ बजे कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा ल्याउँदै गर्दा बाटामा नै उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नजिकै चट्याङ परेपछि हृदयाघात भएर प्रजाको मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । उनको शरीरमा कुनै चोटपटक नभेटिएको प्रहरीले जनाएको छ ।

यसैबिच उदयपुरको कटारी नगरपालिका–११ हरबेनी बस्ने वर्ष ४७ का भेषबहादुर खत्रीको आज बिहान ९ बजे घरमा चिया खाइरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको छ ।

त्यसैगरी, कटारी–११ गहुँबारीको काफलडाँडा बस्ने वर्ष ५५ का बलबहादुर बस्नेतको पनि घरको दलानमा चट्याङ लागेर मृत्यु भएको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक नरबहादुर केसीले बताउनुभयो ।

अहिले मृतकको शव लिन प्रहरी घटनास्थल पुगेको छ ।

प्रकाशित मिति: २६ बैशाख २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्