होटलबाट अनैतिक क्रियाकलापमा संलग्न १२ जना पक्राउ
सुरुङ्गा (झापा), वैशाख २६
पाँच भारतीय नागरिकसहित १२ जनालाई सोमबार प्रहरीले झापाका विभिन्न होटलबाट अनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरीको टोलीले उनीहरुलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमध्ये एकजना होटल सञ्चालक समेत रहेका छन् । प्रहरीका अनुसार बिर्तामोडको भद्रपुर रोडमा रहेको ३६५ क्याफेबाट क्याफे सञ्चालक सुवाससहित पाँच भारतीय नागरिक र दुई युवतीलाई पक्राउ गरिएको हो ।
त्यस्तै, बिर्तामोडस्थित नयाँ बसपार्कमा सञ्चालित निशा होटलबाट एक जोडी र मेची कोसी टपबाट दुई जोडीलाई आपत्तिजनक अवस्थामा नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक थेवेले बताउनुभयो ।
प्रकाशित मिति: २६ बैशाख २०७४, मंगलबार