अत्तरिया कप महिला क्रिकेट प्रतियोगितामा एपिएफ बिजयी


 


धनगढी, वैशाख २५

कैलालीको अत्तरियामा जारी ‘रुस्लान अत्तरिया कप महिला क्रिकेट प्रतियोगिता’मा विभागीय टोली एपिएफले आज कैलाली जिल्ला क्रिकेट एकेडेमीलाई ८२ रनले पराजित गरेको छ ।

अत्तरियास्थित एपिएफको खेल मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै एपिएफले निर्धारित २० ओभरमा पाँच विकेट क्षतिमा १५० रन बनायो ।

टिमका लागि करुणा भण्डारीले ४२ रनको पारी खेलिन् । २९ बलको सामना गर्दै उनले एक छक्का र ६ चौका प्रहार गरिन् । टिमका लागि १५ बल खेल्दै तीन चौकाको मद्दतले विनु बुढामगरले २१ रन र ममता चौधरीले १५ रन बनाइन् ।

दोस्रो विकेटका लागि ज्योति र सरिता मगरले ३२ रन, तेस्रो विकेटका लागि ज्योति र करुणाले ३५ रन तथा करुणा र ममताले चौथो विकेटका लागि २९ रनको महत्वपूर्ण साझेदारी गरे ।

कैलाली जिल्ला क्रिकेट एकेडेमीका लागि कविता कुँवरले तीन विकेट लिइन् । यस्तै अञ्जली चन्द र लक्ष्मी साउदले १÷१ विकेट लिइन् ।

कैलालीका लागि सुमन विष्टको बलिग भारी भयो । एक ओभरमा २३ रन दिएकी उनले आफूले गरेको ४ ओभरमा ४७ रन खर्चिन् ।

एक सय ५१ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको कैलाली जिल्ला क्रिकेट एकेडेमी ६८ रनमा समेटियो । टोलीका लागि नितु भण्डारीले १७ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

एपिएफको जितमा विनु बुढामगरले ३ विकेट लिइन् । सरिता मगर र सीता रानामगरले दुई÷दुई विकेट लिए भने करुणा भण्डारी र रितु कनौजीयाले १÷१ विकेट लिए ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपिएफकी कप्तान विनु बुढामगर ‘वुमन अफ द म्याच’ घोषित भए । उनी नगद रु तीन हजार हात पारिन् ।

त्यस्तै खेलमा १÷१ छक्का प्रहार गरेकी एफिएफकी करुणा भण्डारी र इन्दु बर्माले नगद रु पाँच÷पाँच सय प्राप्त गरिन् ।

प्रकाशित मिति: २५ बैशाख २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्