२०५४ सालमा स्थानीय चुनाव गराएका बामदेव के भन्छन् ?


 


काठमाडौँ, वैशाख २४

नेकपा (एमाले) का उपाध्यक्ष वामेदव गौतमले आसन्न स्थानीय तहको निर्वाचनमा अत्यधिक स्थानमा आफ्नो पार्टीले जित्ने दाबी गर्नुभएको छ ।

एमालेको केन्द्रीय प्रचार विभागले आज यहाँ आयोजना गरेको सञ्चार अन्तरक्र्रियामा उपाध्यक्ष गौतमले निर्वाचन आयोगले सार्वजनिक गरेको निर्विरोध निर्वाचितको सूचीबाटै आफूहरुको अग्रता सुरु भएकाले एमालेलाई पराजित गर्ने अर्को शक्ति नभएको दाबी गर्नुभयो ।

उहाँले संविधान संशोधन, महाभियोग, अर्को चरणको निर्वाचनजस्ता समग्र विषय र तिनमा परेका गाँठो फुकाउन एमाले शक्ति निर्णायक भूमिकामा आवश्यक रहेको भन्दै निर्वाचनपछि आवश्यकता परेमा आफ्नो पार्टी सरकारमा जान सक्ने तर तत्काल त्यस्तो सम्भावना नरहेको जनाउनुभयो ।

दोस्रो चरणका लागि तोकिएको जेठ ३१ को निर्वाचनलाई बजेट आउने दिन ९१५ जेठ० अगावै गर्नुपर्ने एमालेको अडान सरकारले सुन्नुपर्ने आग्रह नेता गौतमले गर्नुभयो ।

निर्वाचनमा सुरक्षा निकायको भूमिकाबारे सोधिएको प्रश्नमा उहाँले नेपालको सुरक्षा निकाय देशभर एकैपटक निर्वाचन गर्दा पनि व्यवस्थापन गर्न सक्ने र प्रशंसित कार्य गर्ने खालको भएको बताउनुभयो ।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले सत्ता गठबन्धनबीच जतिसुकै तालमेल भए पनि आफ्नो पार्टीले ६० प्रतिशत स्थानमा विजय हासिल गर्ने बताउनुभयो । रासस

प्रकाशित मिति: २४ बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्