काँग्रेस उम्मेदवारको गाडीमा पेट्रोल बम प्रहार


 


चितवन, वैशाख २४

खैरहनी नगरपालिकाका नेपाली काँग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको घरमा पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले गएराति पेट्रोल बम प्रहार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार खैरहनी नगरपालिका–९ बछौलीस्थित चौधरीको घरमा बा८च १५६२ नंको स्कारपियो गाडीमा बम प्रहार भएको हो ।

बम बिस्फोट हुन नपाएकाले ठूलो क्षति हुनबाट जोगिएको उहाँले बताउनुभयो । गाडीको अगाडिको सिसा चर्किएको छ । रातको समयमा अपरिचित व्यक्तिबाट बम प्रहार भएको उहाँले बताउनुभयो । बम प्रहार गरी फरार भएकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि शनिबार बिहान भरतपुर महानगरपालिका–१० स्याउलीबजारमा माओवादी केन्द्रकी प्रमुख पदकी उम्मेदवार रेणु दाहाल हाल बसोबास रहेको घर नजिकै एउटा गाडीमा तोडफोड भएको थियो ।

चुनाव विरोधी गतिविधिमा लागेको भन्दै प्रहरीले हालसम्म १४ जनालाई पक्राउ गरी कारबाही गरेको जनाएको छ ।

दुई गाडीमा आगजनी

नेपाली काँग्रेसले चुनाव प्रचारका लागि प्रयोग गरेका दुईवटा गाडी गएराति अज्ञात समूहले जलाइदिएका छन् । धुनीबेँसी नगरपालिका–५ मा रोकेर राखेको अवस्थामा ती गाडी जलाइएको हो ।

बा१२च १२७६ नंको बोलेरो जिप र बा३च १७०३ नं को जिप्सी गाडी अज्ञात समूहले जलाइदिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । जलाउनेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २४ बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्