स्पेनिस ला लिगामा रियल मड्रिडको शानदार जित


 


एजेन्सी, वैशाख २४

क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेल बिना पनि रियल मड्रिडले प्रभावशाली जित दर्ता गरेको छ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति अवेर मैदानमा भएको खेलमा रियल मड्रिडले ग्रनाडालाई ४–० ले हराएको हो ।

जितले उपाधि होड थप रोमाञ्चक बनेको छ । रियलको जितमा जेम्स रोड्रिग्वेज र अल्भारो मोराटाले दुई दुई गोल गरे । रियल मड्रिड क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेल बिना नै खेलेको थियो ।

रोनाल्डोलाई आराम दिइएको हो भने बेल चोटका कारण मैदानमा थिएनन् ।  रियल मड्रिडले सबै चार गोल पहिलो हाफमा नै गरेको हो । तेस्रो मिनेटमा नै रोड्रिग्वेजले गोल गर्दै रियललाई सुरुवाति अग्रता दिलाए ।

११ औं मिनेटमा रोड्रिग्वेजले व्यक्तिगत दोस्रो गोल गर्दै रियलको अग्रता दोब्बर पारे । ३० औं मिनेटमा मोराटाले गोल गरेपछि रियलको अग्रता ३–० मा पुग्यो ।

त्यसको पाँच मिनेटपछि मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ४–० मा पुर्‍याए । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र रियल मड्रिड ४–० ले विजयी भयो ।

जितपछि दोस्रो स्थानमा रहेको रियल मड्रिडको ८४ अंक भएको छ । शीर्ष स्थानको बार्सिलोनाको लिगका दुई खेल बाँकी हुँदा ८४ अंक भएको छ ।

रियल मड्रिडले भने लिगमा तीन खेल खेल्न बाँकी छ । रियल मड्रिडले अब सेभिल्ला, सेल्टा डी भिगो र मालागासँग खेल्न बाँकी छ ।

प्रकाशित मिति: २४ बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्