नयाँ शक्तिका कार्यकर्तामाथि माओवादी केन्द्रको आक्रमण


 


गोरखा, वैशाख २४

नयाँ शक्ति पार्टीको चुनावी प्रचारमा हिँडेका नेता, कार्यकर्तालाई बाटो छेकेर नेकपा (माओबादी केन्द्र) का कार्यकर्ताले आक्रमण गरेको नयाँ शक्ति पार्टीले आरोप लगाएको छ ।

गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा आज साँझ माओवादी केन्द्रको आक्रमणबाट नयाँ शक्तिका कार्यकर्ता सुवास कुमाल, भीमबहादुर कुमाल, तिलक रम्तेल र दीपक कुमाल घाइते भएका छन् । उनीहरूको गोरखा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

माओवादी कार्यकर्ताले नयाँ शक्ति पार्टीका कार्यकर्ता चढेको ग २ च ३३६४ नम्बरको बोलेरो जीपको सीसा फुटाइदिएका छन् । इट्टा प्रहारबाट बोलेरोको अगाडि भागको सीसा फुटेको छ भने बा ३७ प २६०४ र बा ४० प ६४२७ नम्बरको मोटरसाइकल तोडफोड गरेका हुन् । साँझ पौने छ बजेतिर माओवादीले नयाँ शक्तिका कार्यकर्तामाथि आक्रमण गरेको बताइएको छ ।

नयाँ शक्तिबाट गोरखा नगरपालिकाको प्रमुख पदका उमेद्वार पूर्वसभासद ज्ञानेन्द्र कुमालको नेतृत्वमा देउरालीमा चुनावी सभा गरेर फर्किएको टोलीमाथि माओवादीले आक्रमण गरेका हुन् ।

कुमाल स्कारपियो गाडीमा रहेकाले आक्रमणमा परेनन् । चुनावी प्रचार टोली सवार बोलेरोमाथि माओबादीले आक्रमण गरेका प्रत्यक्षदर्शीले जनाएका छन् ।

नयाँ शक्ति पार्टीका कार्यकर्तामाथि आफूहरूले आक्रमण नगरेको गोरखा नगरपालिकाको प्रमुख पदका उमेद्वार कृष्ण रानाले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो टोलीले लालसलाम भन्यो । उनीहरूले अश्लील इसारा गरेपछि सामान्य विवाद भएको हो । कुटपिट भएको छैन ।”

प्रकाशित मिति: २४ बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्