भारतमा सडक दुर्घटना १४ जनाको मृत्यु


 


नयाँदिल्ली, बैशाख २२

भारतको उत्तर प्रदेशमा शुक्रबार एउटा मिनी ट्रक दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने, अन्य २८ जना घाइते भएका छन् ।

घाइते मध्ये केहीको अवस्था गम्भीर भएकाले मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

उत्तर प्रदेशको राजधानी लखनउदेखि २६५ किलोमिटर पश्चिमतर्फ पर्ने इताह जिल्लाको सराय निम क्षेत्रनजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परेकाहरु सवै जना विवाह भोजमा सहभागी भएर फर्किरहेका प्रहरीले बताएको छ ।  आइतबार बिहानै यहाँ भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अरु २८ जना घाइते भएका एक जना उच्च प्रहरी अधिकारीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

उहाँले थप्नु भयो, “अत्याधिक धेरै यात्रु भएको मिनी ट्रक मोडमा घुमाउन खोज्दा मानवीय गल्तीको कारण दुर्घटनामा परी बाटोदेखि तल खसेको छ ।”

स्थानीय बासिन्दाले तत्काल प्रहरीलाई खवर गरेपछि सुरक्षाकर्मीहरु सहितको उद्धारकर्ताहरुले उनीहरुलाई उद्धार गरेर अस्पताल लगेको सञ्चार माध्यमहरुले जनाएका छन् । घाइते मध्ये २० जनालाई आगराको एस एन अस्पतालमा भर्ना गरिएको छ ।

मृतकहरुको शव पोर्टमार्टम गरिएको अधिकारीहरुले बताएका छन् । दुर्घटना हुनुको कारण अहिले सम्म स्पष्ट भईनसकेपनि चालकको लापर्बाहीका कारण दुर्घटना भएको प्रहरीको प्ररम्भिक निष्कर्ष छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: २२ बैशाख २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्