इरानमा कम्तीमा ७० जना कामदार च्यापिए


 


तेहरान, वैशाख २१

इरानको उत्तरी क्षेत्रमा रहेको खानीमा बुधबार पहिरो जाँदा कम्तीमा ७० जना स्थानीय कामदार च्यापिएका छन् ।

गोलेस्टन प्रदेशको खानीमा मिथेन ग्यास विस्फोट भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

“खानीको एकतर्फ ४० जना कामदार च्यापिएका छन् भने अर्को तर्फ अरू ३० देखि ४० जनासम्म च्यापिएका छन्,” इरानको आपतकालीन सेवाका प्रमुख पिर हुसैन कोलिभान्दलाई उद्धृत गर्दै इरानको समाचार संस्था आईएसएनएले जनाएको छ ।

उहाँले १२ जना घाइतेलाई जीवितै खानीबाट बाहिर निकालिएको पनि जानकारी दिनुभयो ।

पहिरो गएपछि सुरुङजस्तो बनेको ठाँउमा ग्यास भरिएकाले उद्धार कार्य निकै कठिन भइरहेको उद्धार कार्यमा खटिएका स्थानीय एक अधिकारीले बताउनुभयो ।

राज्यद्वारा सञ्चालित समाचार संस्था इर्नालाई नाम नबताउने सर्तमा अर्का एक सरकारी अधिकारीले पहिरोमा पुरिएकामध्ये अधिकांश कामदारको मृत्यु भएको हुनसक्ने बताउनुभयो । उहाँले उनीहरूको मृत्युको औपचारिक पुष्टी भने भई नसकेको स्पष्ट पार्नुभयो ।

सरकारी सञ्चार माध्यमले खानीमा पहिरो गएको बेला पाँच सय जना कामदार रहेको जनाएको छ ।

प्रकाशित मिति: २१ बैशाख २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्