काठमाडौँ महानगरमा ८८७ जनाको उम्मेदवारी


 


काठमाडौँ, वैशाख २०

काठमाडौँ महानगरपालिकाको १६२ पदका लागि ८८७ जनाको उम्मेदवारी परेको छ । वैशाख ३१ गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि मङ्गलबार रातिसम्म चलेको उम्मेदवारी दर्ताका क्रममा १६२ पदका लागि ८८७ जनाको उम्मेदवारी परेको हो ।

मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले प्रमुखमा २८, उपप्रमुखमा १३ र विभिन्न वडाका अध्यक्ष र सदस्यमा ८४६ जनाको उम्मेदवारी परेको जानकारी दिनुभयो ।

प्रमुख पदमा १२ जनाले राजनीतिक दलबाट उम्मेदवारी दर्ता गराएका छन् भने १६ जना स्वतन्त्र उम्मेदवार छन् । उपप्रमुखमा राजनीतिक दलबाट सात जनाको उम्मेदवारी परेको छ भने छ जना स्वतन्त्र उम्मेदवार छन् ।

काठमाडौँ महानगरपालिकाका ३२ वडामा ३४० मतदान केन्द्र राखिएका छन् र यहाँ दुई लाख ७१ हजार २२१ मतदाता रहेका छन् । काठमाडौँ महानगरपालिकाका ३२ वडाबाट पाँच÷पाँच जनाका दरले १६० चुनिने छन् । प्रमुख र उपप्रमुख गरी १६२ पदमा प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: २० बैशाख २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्