आफुले भेटेको ८६ हजार रकम फिर्ता गर्ने यी मनकारी प्रहरी
भोटराज राई
उदयपुर, वैशाख १९
जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत हवल्दार हरेराम यादवले एक सर्बसाधारणले हराएको ८६ हजार रुपैंया पैसा फेला पारी मंगलबार सम्बन्धीत ब्यक्तिलाई फिर्ता दिएका छन् ।
हवल्दार यादवले सदरमुकाम गाईघाट बजारको नयाँबसपार्क नजिकै फेला परेको पैसा सुरक्षित र इमान्दारपूर्वक जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए ।
उक्त रकम जिल्ला प्रहरी प्रमूख एसपी नरबहादुर केसीले सम्बन्धीत ब्यक्ति त्रियुगा नगरपालिका ३. का म्यामबहादुर विकलाई हस्तान्तरण गर्नुभयो ।
भेटिएको पैसाको बारेमा प्रहरीले तत्काल आप्mनो मातहत र सार्बजनिकरुपमा सूचना गरेको थियो । सूचनापछि सम्बन्धीत ब्यक्ति पत्ता लगाई रकम फिर्ता दिईएको एसपी केसीले बताउनुभयो । तीनदिन अघि पैसा बुझेका वि.क.की श्रीमती सर्मिलाले पकेटबाट रकम खसाएकी थिईन् ।
हराएको पैसा माया मारिसकेको अवस्थामा फेला परेकोमा खुसी ब्यक्त गर्दै वि.क.ले इमान्दार प्रहरी हवल्दार यादवलाई धन्यवादसहित १० हजार पुरस्कार तत्काल प्रदान गर्नुभयो ।
जनधनको सुरक्षामा खट्ने प्रहरीको यस्तो ब्यवहार विश्वास र भरोसा जगाएको उहाँले बताउनुभयो । एसपी केसीले भेटिएको पैसा हवल्दार यादवले इमान्दारपूर्वक कार्यालयमा बुझाएका कारण सम्बन्धीत ब्यक्तिलाई फिर्ता गर्न पाउदा कार्यालय र सिंगो प्रहरी संगठनको प्रतिष्ठा उठाउने काम भएको बताउनुभयो ।
यस इमान्दार कार्यले सबैलाई असल कामका लागि प्रेरित गर्ने उहाँले बताउनुभयो ।
प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलबार