स्थानीय तह निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता सुरु


 


काठमाडौँ, वैशाख १९

यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि तीन प्रदेशका ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहमा आज बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा आई उम्मेदवारले मनोनयन दर्ता सुरु गरेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शमाले जानकारी दिनुभयो । संविधानसभाबाट जारी भएको नेपालको संविधान कार्यान्वयन गर्ने क्रममा स्थानीय तह निर्वाचन हुन लागेको हो ।

पहिलो चरणमा प्रदेश नं ३, ४ र ६ मा सञ्चालन हुने सो निर्वाचनमा तीन वटै प्रदेशमा गरी चार महानगरपालिका, एक उपमहानगर र ९२ नगरपालिकाका प्रमुख, उपप्रमुख तथा एक सय ८६ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षका लागि मनोनयन दर्ता हँुदैछ ।

यसैगरी महानगरका एक सय २३, उपमहानगरका १९, नगरपालिकाका एक हजार ९१ र गाउँपालिकाका एक हजार तीन सय ६५ गरी जम्मा दुई हजार पाँच सय ९८ वडाध्यक्षका लागि मनोनयन हुँदैछ । साथै दुई हजार पाँच सय ९८ वडाका लागि चार सदस्यका दरले १० हजार तीन सय ९२ वडा सदस्यका लागि मनोनयन हुने आयोगले जनाएको छ ।

२५९८ वडा सदस्यमा महिला र दलित महिला गरी पाँच हजार एक सय ९६ वडा सदस्यका लागि महिलाको उम्मेदवारी हुनेछ । प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहका लागि हुने निर्वाचनमा४९ लाख ५६ हजार नौ सय २५ मतदाता छन् । निर्वाचन प्रयोजनका लागि छ हजार छ सय ४२ मतदान केन्द्रमा मतदान हुनेछ ।

राजनीतिक दलले उम्मेदवारी दिँदा नगरपालिकाका प्रमुख÷उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षमध्ये ५० प्रतिशत महिला उम्मेदवार हुनैपर्ने प्रावधान छ । वडा तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।

महिला, दलित, अल्पङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारले उम्मेदवारी मनोनयन गर्नका लागि आवश्यक पर्ने दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्था रहेको छ । उम्मेदवारी दर्ताका लागि आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्मको समय तय गरिएको छ । रा

प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्