तीन प्रदेशमा उम्मेदवारी मनोनयन दर्ता हुँदै, यस्तो छ निर्वाचन कार्यक्रम


 


काठमाडौँ, वैशाख १९

पहिलो चरणको स्थानीय निर्वाचन अन्तर्गत ३१ गते हुने मतदानका लागि मंगलबार ३ वटा प्रदेशमा उम्मेदवारी मनोनयन दर्ता संगै ती प्रदेशका गाउँ तथा नगरपालिकामा चुनावी चहलपहल बढ्ने अधिकारीहरुले बताएका छन् ।

प्रदेश नम्बर ३, ४ र ६ का २८३ वटै गाँउपालिका र नगरपालिकामा मनोनयन दर्ताका लागि सबै तयारी पूरा भैसकेको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन हुने गाँउपालिका र नगरपालिकामा आवश्यक सबै सामाग्री सहित निर्वाचन टोली पुगिसकेको आयोगले जनाएको छ।

बिहान १० बजे देखि ५ बजेको समय उम्मेदवारी मनोनयन दर्ताका लागि छुट्याइएको र उक्त समयमा सबै निर्वाचन केन्द्रहरुमा दर्ताको काम हुने आयोगका पदाधिकारीहरुको भनाइ छ।

देशमा विकसित राजनीतिक घटनाक्रमले आयोगमा चुनावबारे कुनै दुविधा नरहेको र सबै काम स्वाभाविक ढंगले अघि बढिरहेको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताएका छन्।

“स्वाभाविक रुपमा मतदातामा केही आशंका वा दुविधा भएका होलान्। तर आयोग राजनीतिक घटनाक्रमबाट अप्रभावित छ। सबैजना ढुक्क भए हुन्छ,” उनले भने।

उम्मेदवारि दर्ताका लागि प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाले आफ्नो पार्टीका तर्फबाट उम्मेदवार चयन गर्ने र निर्वाचन प्रकृयाका लागि आवश्यक पर्ने पार्टीको पत्र अर्थात टिकट दिने काम अधिकांश इकाइका लागि पूरा भैसकेको जनाएका छन्।

बाँकी रहेका केही स्थानमा भने उम्मेदवारी दर्ता भन्दा अगाडि सम्ममा उमेद्वार टुङगो लगाउने उनीहरुले जनाएका छन्।

निर्वाचन आयोगले मंगलबार दर्ता हुने उम्मेदवारहरुको सूची मंगलबारै प्रकाशित गर्ने र उम्मेदवारको विरोधमा उजुरी दिने र मनोनयन जाँच गर्नका लागि बुधबारको दिन छुट्याएको छ।

२१ गते उम्मेदवारहरुलाई नाम फिर्ता लिने र २२ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने तथा निर्वाचन चिन्ह दिने कार्यक्रम आयोगले बनाएको छ।

प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्