काव्यमेलामा पाँच कविको प्रस्तुति


 


काठमाडौँ, वैशाख १९

उर्वरा फाउन्डेसन, नेपालसँगको सहकार्यमा अराजक अक्षर समूह र कर्मी नाट्य समूह भरतपुर, चितवनले राजधानीको बागबजारस्थित सिटीम्याक्स सिनेमाहलमा आयोजना गरेको ‘काव्यमेला’मा युवा पुस्ताका पाँच कविले आफ्ना पाँच–पाँच कविता सुनाए ।

मेलामा युवाकविहरू सुदीप कोइराला ‘सुको साइबर’, लक्ष्मी रुम्बा, मुकुन्द खलपात्र, सुशील कुवँर र अञ्जना राई प्रस्तुत भएका हुन् ।

कतारमा कार्यरत कुवँरले ‘आज मजदुर दिवस, हामी पनि एक मजदुर नै हौँ’ भन्दै विदेसिनुको पीडा समेटिएको ‘मजदुर म’ शीर्षकको कविताबाट कार्यक्रमको आरम्भ गरे ।

उनले ‘बहिनीको चिठ्ठी’, ‘अतिरिक्त हाँसो’, ‘निष्कर्ष’ र ‘ठेकेदार’ सुनाएर माहौल तताए । दोस्रो चरणमा प्रस्तुत भएकी राईले ‘आमाको आँखामा छोरीको आधा अनुहार’, ‘दुध्कोसीको किनार’, ‘फोक्सोको आयु’, देउताहरूको कुरा’, र ‘तीज’ सुनाइन् ।

त्यसपछि नाट्यकर्मी समेत रहेका खलपात्रले अभिनयात्मक शैलीमा ‘मिस हिमाल’, ‘नमस्ते सर’, जिन्दगीरुपी कारोबार’, ‘विस्तार’ र ‘अर्धनग्न सगरमाथा’ कण्ठस्थठ सुनाएर ।

यसै गरी रुम्बाले ‘एकसरो यथार्थ’, ‘जङ्गल ः एक सपना’, ‘झरीको अनुहार’, लामो रातपछि’ र ‘माक्स’ शीर्षकका कविता सुनाइन् । अन्तिममा प्रस्तुत भएका साइबरले ‘प्रश्न’, ‘बम र बुद्ध’, ‘भोक’, र ‘आगो’ शीर्षकका छोटा कविता सुनाएर काव्यवाचनको बिट मारे ।

काव्यमेलामा प्रस्तुत भएका पाँच कविका कविता सुनिएसकेपछि प्राज्ञ तथा कवि श्रवण मुकारुङले मेलामा वाचित कविताहरू सबै उत्कृष्ट र फरक–फरक शैलीको रहेको बताए । कवितामा शब्द भन्दा भाव प्रधान हुनुपर्ने उनको आशय थियो ।

‘कविता भावनाभन्दा भोगाइमा केन्द्रित हुनु पर्छ, यो नै कविताको सत्य हो ।’ उनले भने । कार्यक्रमको उद्देश्यबारे अराजक अक्षर समूहका सदस्य उत्तम गुरुङ र मिताली थापाले प्रकाश पारेका थिए ।

भरतपुरमा थिएटर निर्माणको अभियानसहित मासिक रूपमा सञ्चालन हुँदै आएको ‘काव्यमेला’को यो छैटौँ शृङ्खला हो ।

यसअघि मेलामा कवि तथा प्राज्ञहरू श्रवण मुकारुङ, अमर गिरी, शशी लुमुम्बूका साथै मुकुन्द खलपात्र, शीतल लामा र अञ्जन ढुङ्गाना प्रस्तुत भइसकेका छन् ।

प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्