एमालेले आज चुनावी घोषणा पत्र जारी गर्दै


 


काठमाडौं, बैशाख १७
प्रमुख विपक्षी दलको रूपमा रहेको नेकपा (एमाले)ले आगामी स्थानीय तहको लागि पार्टीको चुनावी घोषणा पत्र आज सार्वजनिक गर्ने भएको छ । पार्टी मुख्य कार्यालय धुम्बाराहीमा आज दिउँसो ३ बजे एक पत्रकार सम्मेलनको आयोजना गरी घोषणा पत्र सार्वजनिक गर्न लागिएको हो ।

गत शुक्रबार बसेको स्थायी समिति बैठकले घोषणा पत्रलाई अन्तिम रूप दिएको हो । एमालेको घोषणा पत्रमा विकास योजनाका साथै सामाजिक क्षेत्रको विकासलाई प्राथमिकतामा पारिएको छ । सार्वजनिक गर्न लागिएको उक्त घोषणा पत्रमा वृद्ध भत्ता मासिक पाँच हजार र्पुयाउने, वार्षिक चारदेखि पाँच लाखसम्म रोजगारी दिलाउने उल्लेख गरिएको छ ।

त्यस्तै घोषणा पत्रमा देशमा गरिबी र बाह्य चलखेल सहन नसकिने र मुलुकले एमालेको नेतृत्वमा छोटो समयमै आर्थिक समृद्धि हासिल गर्ने उल्लेख छ । घोषण पत्र स्थानीय तहलाई बलियो बनाउने, आर्थिक विकास अगाडि बढाउने र सामाजिक समानता कायम गर्ने विषयमा केन्द्रित रहेको नेताहरूले बताएका छन् ।

यसैबीच, एमालेले दुई वटा प्रदेशको उम्मेदवारहरूको नामावली पनि आज सार्वजनिक गर्ने भएको छ । हिजोको बैठकमा प्रदेश नम्बर ३ का संयोजक अष्टलक्ष्मी शाक्य र प्रदेश नम्बर ६ का संयोजक युवराज ज्ञवालीले स्थानीय तहमा पार्टीको जिल्लाबाट सिफारिस भएर आएका उम्मेदवारहरूको विवरण प्रस्तुत गरेका थिए ।

प्रदेश नम्बर ६ का २५ वटा नगरपालिका र ५७ वटा गाउँपालिका गरी ८२ वटै तहमा सर्वसम्मत रूपमा सबै उम्मेदवार निर्णय भइसकेको एमालेले जनाएको छ । यसैगरी, प्रदेश नम्बर ३ मा महानगरपालिका र उपमहानगरपालिकामा सर्वसम्मत रूपमा उम्मेदवार चयनका लागि प्रयत्न भइरहेको छ र आज बिहानसम्म त्यसलाई टुङ्गो लगाइने प्रदेश संयोजक शाक्यले जानकारी दिए ।

सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, चितवन, मकवानपुर र ललितपुरमा सबै उम्मेदवारहरूको टुङ्गो भइसकेको छ भने अन्य जिल्लामा पनि ९० प्रतिशतभन्दा बढी स्थानमा उम्मेदवारहरू चयन भएको एमालेले जनाएको छ ।

प्रकाशित मिति: १७ बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्