सात वर्षभित्र १७ हजार मेगावाट विद्युत उत्पादन- ऊर्जामन्त्री


 


लुम्बिनी, वैशाख १७

ऊर्जामन्त्री जनार्दन शर्माले सात वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य रहेको बताएका छन ।  सिद्धार्थ उद्योग वाणिज्य सङ्घले शनिबार भैरहवामा आयोजना गरेको स्वागत, सम्मान तथा साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री शर्माले सरकारको प्रत्यक्ष निगरानीमा आठ हजार र निजी क्षेत्रको सहभागितामा नौ हजार मेगावाट विद्युत् उत्पादन थप गरी अबको सात वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने दाबी गरे ।

उज्यालो अभियान प्रचारका लागि नभएर वास्तविकताका लागि भएको भन्दै कार्यक्रममा सहभागी उद्योगी व्यवसायीलाई हौसला दिँदै मन्त्री शर्माले उद्योगी व्यवसायीले अब ऊर्जामा लगानी गर्नुपर्ने बेला आएको बताए ।  ऊर्जामा गरेको लगानी कहिल्यै खेर नजानेसमेत बबताए । मन्त्री शर्माले एक वर्षभित्र देश पूर्णरुपमा विद्युत्भार कटौतीमुक्त हुनेसमेत दाबी गरे ।

विद्युतभार कटौती अन्त्यका लागि जलविद्युत्का क्षेत्रमा थुप्रै काम भइरहेको बताउँदै उहाँले पहिलो चरणमा अहिले देशका मुख्य सहरहरूमा विद्युत्भार कटौती अन्त्य गर्ने काम भइरहेको बताए   । एक वर्षभित्र उज्यालो नेपाल बनाउन आफूले दिनरात नभनी काम गरिरहेको बताउँदै मन्त्री शर्माले अबको केही समयमै निर्माणाधीन अवस्थामा रहेका ठूला आयोजनाहरू पूरा भएपछि देशका अधिकांश सहरमा विद्युत्भार कटौती अन्त्य हुने बताए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले रुपन्देहीमा रहेको विद्युत् समस्या चाँडै नै समाधान हुने बताउँदै भैरहवा, बुटवललाई छिट्टै विद्युत्भार कटौतीमुक्त बनाउने तयारी थालेको बताए ।

देशलार्ई विद्युत्भार कटौतीमुक्त बनाउने अभियानअन्तर्गत काठमाडौँ पूर्णरुपमा विद्युत्भार कटौतीमुक्त भएको र अब विस्तारै बाहिर पनि सकेसम्म विद्युत्भार कटौती न्यून गर्ने योजनाअनुसार प्राधिकरणले काम गरिरहेको बताए ।  कार्यक्रममा सङ्घका अध्यक्ष रामकुमार शर्माले विद्युतको अनियमितताको कारण यस क्षेत्रका उद्योग व्यवसाय मारमा परेको बताए।

प्रकाशित मिति: १७ बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्