रसुवागढी नाका फेरि बन्द


 


काठमाण्डौ,वैशाख १७
नेपालको चीनसँग सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाका फेरि बन्द भएको छ । चीनले बाटो मर्मतको कारण देखाउँदै नाका बन्द गरेको रसुवा प्रहरीले जानकारी दिएको छ । यससँगै चीनसँग हाल संचालनमा रहेको एकमात्र व्यापारिक नाका रसुवागढीमा तीन दिनसम्म सवारी साधन संचालन गर्न नपाइने चिनियाँ पक्षबाट जानकारी आएको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक रन्जन दाहालले जानकारी दिए ।

आइतबारदेखि तीन दिन पूर्ण रुपमा नाका बन्द हुने चिनियाँ अधिकारीले नेपाली सुरक्षा अधिकारीलाई जानकारी गराइसकेको दाहालको भनाइ छ । चिनियाँ पक्षले २७ किलोमिटर दूरीको रसुवागढी–केरुङ सडक मर्मत तथा ट्रयाक निर्माणका लागि ब्लाष्टिङको काम शनिबारदेखि थालेपछि यातायात सञ्चालनमा रोक लगाइएको छ ।

रसुवागढीदेखि चीनको केरूङसम्म चिनियाँ पक्षले शनिबारदेखि सडक सुधार तथा मर्मत कार्य थालेकोले सवारी साधन संचालन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले जानकारी दिए ।

रसुवागढी नाका काठमाडौंदेखि एक सय ५२ किलोमिटर दूरीमा छ । नाका संचालन हुँदा दैनिक रुपमा ४०÷५० थान माल वाहक कन्टेनर तथा अन्य यातायातका साधन संचालन हुँदै आएका थिए ।

यो खबर हामिले आजको अन्नपूर्ण पोस्ट दैनिकबाट लिएका हौँ ।

प्रकाशित मिति: १७ बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्