मुम्बई इन्डियन्स विजयी


 


काठमाण्डौ, वैशाख १७
इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ । मुम्बईले गुजरात लायन्सलाई सुपर ओभरमा हराएको हो ।

१ सय ५४ रनको लक्ष्य पाएको मुम्बईले २० ओभरमा १ सय ५३ रन मात्र बनाउन सकेपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा मुम्बईका जसप्रित बुमराहले कसिलो बलिङ गर्दै टिमलाई जिताए ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको मुम्बईले ११ रन बनायो । जित्नलाई १२ रन बनाउनुपर्ने भएपनि गुजरातले ६ रनमात्र बनाउन सक्यो । विष्फोटक ब्याट्स्म्यानका रुपमा चिनिने ब्रेण्डन म्याकुलम र एरोन फिन्चले एक ओभरमा १२ रन पनि बनाउन सकेनन् र मुम्बई विजयी भयो ।

आइपिएलको यो सिजनमा सुपरओभरबाट खेलको निर्णय भएको यो पहिलोपटक हो । यसअघि पहिले ब्याटिङ गरेको गुजरातले इशान किसानको ४८ रनको मद्दतमा १ सय ५३ रन बनाएको थियो ।

जवाफमा मुम्बई पनि पार्थिव पटेलको ७० रनको मद्दतमा १ सय ५३ रनमा अलआउट भयो । ९ खेलमा ७ खेल जितेका मुम्बई १४ अंकसहित दोस्रो स्थानमा छ । ९ खेलमा तीन खेल मात्रै जितेको गुजरात ६ अंकसहित पाँचौं स्थानमा छ ।

प्रकाशित मिति: १७ बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्