डीआईजी नवराज सिलवाल पक्राउ


 


काठमाडाैं, वैशाख ११

नेपाल प्रहरीका डीआईजी नवराज सिलवाल पक्राउ परेका छन् । बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरमा कानुनी परामर्श लिइरहेका बेला सिलवाललाई प्रहरीले प्रकाउ गरेको हो ।

सिलवालसँगै अधिवक्ता थापालाई पनि प्रहरीले हिरासतमा लिएको बुझिएको छ । सिलवाल विहान पौने १० बजे अधिवक्ता शम्भु थापाको घरमा भेटिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी प्रधान कार्यालयले भने छानविन समितिले सिलवाललाई बयानका लागि ल्याएको बताएको छ । आईजीपीले बोलाएको बैठक बहिस्कार गरेपछि प्रहरी हेडक्वाटरले सिलवाललाई स्पष्टीकरण सोधेको थियो ।

साथै कार्यसम्पादन मूल्यांकनको कागजात पेश गर्ने क्रममा कीर्ते गरेकोबारे छानविन गरिरहेको छ । छानविन समितिले बयानमा बोलाउँदा सिलवाल गएका थिएनन् ।

स्रोतका अनुसार सिलवाललाई दिन दुई नम्बर गणका एसपी सोमबार विहानै उनको घरमा पुगेका थिए । त्यहाँ उनी नभेटिएपछि फरार रहेको भन्दै काठमाडौंमा प्रहरी परिचालन गरिएको थियो ।

प्रहरीले भने वरिष्ठ अधिवक्ता थापा गिरफ्तार गरेको नभई सिलवालले आफ्नो कानुन व्यवसायीका रुपमा साथमा लगेको बताएको छ ।

प्रकाशित मिति: ११ बैशाख २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्