बार्सिलोनाले जित्यो, घरेलु मैदानमै हार्‍यो रियल मड्रिड


 


काठमाडौं, वैशाख ११

स्पेनिस ला लिगाको उपाधि होडमा महत्वपूर्ण इएल क्लासिकोमा बार्सिलोनाले बाजी मारेको छ । लिग अन्तर्गत आइतबार राति रियल मड्रिडको मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा बार्सिलोनाले घरेलु टोली रियल मड्रिडलाई ३–२ ले हराएको हो ।

१० खेलाडीमा सीमित भएको रियल मड्रिडलाई हराउन बार्सिलोनाका लागि लियोनल मेस्सीले दुई तथा इभान रेकिटिकले एक गोल गरे ।

रियलका लागि कासमेइरो र जेम्स रोड्रिग्वेजले गोल गरे । २८ औं मिनेटमा कासमेइरोले गोल गर्दै रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाए । तर त्यसको पाँच मिनेटपछि मेस्सीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा ७३ औं मिनेटमा रेकिटिकले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ७७ औं मिनेटमा अभद्र ट्याकलका कारण रियलका कप्तान सर्जियो रामोसले रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा सीमित भयो ।

८५ औं मिनेटमा रोड्रिग्वेजले रियलका लागि बराबरी गोल फर्काए । अन्तिम समयसम्म बराबरी भएको खेलमा इन्जुरी समय रियलका लागि घातक बन्यो ।

इन्जुरी समयको दोस्रो मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल मड्रिड महत्वपूर्ण इएल क्लासिकोमा पराजित भयो । मेस्सीले यो सिजन ला लिगामा अहिलेसम्म ३१ गोल गरेका छन् ।

उनले बार्सिलोनाबाट सबै प्रतियोगितामा गरेर पाँच सय गोल पूरा गरेका छन् । जितपछि बार्सिलोना रियल मड्रिडसँग अंक बराबरी गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।

बार्सिलोनाको ३३ खेलबाट ७५ अंक भएको छ । समान ७५ अंक नै भएपनि रियल मड्रिड भने दोस्रो स्थानमा झरेको छ । तर रिएल मड्रिडले एक खेल कम खेलेको छ ।

यो खेलमा क्रिष्टियानो रोनाल्डोले गोल गर्ने केही सुन्दर मौका गुमाए । बार्सिलोना प्रतिबन्धमा रहेका नेइमार बिना खेलेको थियो ।

प्रकाशित मिति: ११ बैशाख २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्