मोर्चासँग भएको सहमतिलाई कार्यान्वयनमा ल्याउन मन्त्रिपरिषद् बैठक बस्दै


 


काठमाण्डौ,वैशाख १०

मधेशी मोर्चामा आबद्ध दलहरू र सरकारबीच हिजो अबेरसम्म बसेर सहमति भएको तीन बुँदेलाई कार्यान्वयनमा ल्याउन आज प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को बैठक आव्हान गरेका छन् ।

संविधान संशोधन प्रस्ताव र चुनावको मितिबारे निर्णय गर्न आज ११ बजे सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बस्ने तयारी गरेको हो । बैठकले संशोधन प्रस्तावलाई फाष्ट ट्रयाकबाट पारित गर्ने प्रक्रिया अघि बढाउने र दुई चरणको निर्वाचनको मिति समेत तय गर्ने भएको छ ।

पहिलो चरणको निर्वाचन तोकिएको मिति अर्थात बैशाख ३१ मा नै हुनेछ भने अर्को जेठभित्र गर्ने सहमति भए तापनि मिति आजको बैठकले तय गरिने जनाएको छ ।

बैठकले निर्वाचन दुई चरणमा गर्ने, स्थानीय तहको संख्या थप, सीमांकन हेरफेरका लागि बनाइने संघीय आयोगको संरचना निर्माणलगायतका विषयमा समेत निर्णय गर्नेछ ।

मन्त्रिपरिषद् बैठकको निर्णयपछि दुबै पक्षबीच औपचारिक सहमति पत्रमा हस्ताक्षर गर्ने सहमति हिजोको बैठकले गरेको थियो ।

प्रकाशित मिति: १० बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्