स्थानीय भन्छन्– मत हाल्न जान्नौं, मतदान केन्द्र पुग्नै तीन दिन


 


बाजुरा, वैशाख १०
जिल्लाभर स्थानीय तहको चुनावी रन्को बढेको छ । गाउँगाउँमा कसलाई मत दिने छलफल जारी छ । तर सदरमुकामबाट ६० कोस टाडाको हिमाली गाउँपालिका–३ गुम्बा गाउँका मतदाता भने चुनावी चर्चा गर्दागर्दै पनि मतदान गर्न नजाने निर्णयमा पुगेका छन । गुम्बा गाउँका मतदाताले उम्मेदवार मन नपरेर या बहिष्कार नीतिका कारण भने मतदान नगर्ने निर्णय गरेका होइनन ।

मतदान गरेर घर आइपुग्दा तीन दिन बित्ने भएपछि खर्च र समयको बर्बादी हुने भन्दै उनीहरू मतदान नगर्ने निर्णयमा पुगेका हुन । २६ परिवारको थातथलो रहेको लाम्पाटा र गुम्बा गाउँका मतदाताका लागि निर्वाचन कार्यालयले डेढ दिन हिँडेर मात्र पुगिने गंगा आधारभूत विद्यालय बौडीमा मतदान केन्द्र कायम गरिदिएपछि उनीहरू रहर हुँदाहुँदै बाध्यतावश मतदान नै नगर्ने निष्कर्षमा पुगेका हुन ।

‘१९ वर्षपछि मत हाल्न पाइने आशा थियो तर मत हालेर आउँदै तीन दिन लाग्ने भएपछि बुढाबुढी र बिरामी लिएर जान नसकिने भएकाले हामीले मत नहाल्ने निर्णय गरेका छौं,’ स्थानीय छिरिङ घोर्चे लामा भन्छन । गुम्बा गाउँमा ३० जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराकी प्रमुख सुभद्रा गौतम बताउँछिन ।

यीमध्ये आठजना महिला र २२ जना पुरुष मतदाता छन् । मतदान केन्द्र टाढा भएका कारण यसअघिका निर्वाचनमा समेत मत हाल्न जान नसकेको लामाले बताए । दुःख गरेर मत हाल्न गए पनि बस्ने खाने र सहजीकरण गर्ने कार्यमा कसैले सहयोग गर्ने आश्वासन नदिएपछि उनीहरू मताधिकार पाएर पनि सदुपयोग गर्ने निर्णयमा पुगेका हुन ।

यो खबर हामिले आजको राजधानी दैनिकबाट लिएका हौँ ।

प्रकाशित मिति: १० बैशाख २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्