लोकसेवाकै मिलेमतोमा निलम्बित कर्मचारी बढुवा
काठमाडौं, बैशाख १०
काठमाडौं महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बित कर्मचारीलाई समेत बढुवा गरेको भेटिएको छ । महानगरपालिकाले भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका इन्जिनियर गम्भीरलाल श्रेष्ठलाई कर्मचारी नियुक्ति र बढुवा कार्यमा निष्पक्ष निर्णय लिने निकाय मानिने लोकसेवा आयोगकै मिलेमतोमा बढुवा सिफारिस गरेको भेटिएको हो ।
यसबाट लोकसेवा आयोगको विश्वसनीयतामाथि समेत प्रश्न उठेको छ । पदपूर्ति समितिबाट गरिएको निर्णयमा लोकसेवा आयोगका प्रतिनिधिसमेत रहेका पदपूर्ति समितिका अध्यक्ष शिवप्रसाद मुनकर्मी, सदस्य सचिव महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलसहित ६ जनाले हस्ताक्षर गरेको भेटिएको छ ।
गत २९ फागुनमा बसेको महानगरपालिकाको पदपूर्ति समितिले श्रेष्ठलाई प्राविधिक सेवा अधिकृत स्तरको सातौं तहमा बढुवाको सिफारिस गरेको पाइएको हो । तर, उनको नाम भने बढुवाको सूचीमा प्रकाशित गरिएको छैन । श्रेष्ठसँगै बढुवा भएका अन्य कर्मचारीहरूको नामावली भने २९ फागुनकै मितिमा प्रकाशित गरिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब सात महिनाअघि श्रेष्ठलाई भ्रष्टाचारको अभियोगमा निलम्बन गरेको थियो । उनले हाल विशेष अदालतमा यससम्बन्धी मुद्दासमेत खेपिरहेका छन् । श्रेष्ठसँगै निलम्बनमा परेका महानगरपालिकाका अर्का इन्जिनियर रामहरि फुयाँलले भने राजीनामा दिइसकेका छन् ।
श्रेष्ठले अदालतबाट सफाइ पाएको खण्डमा २९ फागुन २०७३ देखि नै नियुक्ति पत्र पाउने गरी पदपूर्ति समितिले बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
महानगरपालिकाका कार्यकारी अधिकृत पौडेलले निलम्बनमा पर्नुअघिदेखि नै श्रेष्ठ बढुवा प्रक्रियामा सामेल भएको र बढुवाका लागि उनी योग्य भएकाले समितिले बढुवाका लागि सिफारिस गरेको बताए ।
यो खबर हामिले आजको राजधानी दैनिकबाट लिएका हौँ ।
प्रकाशित मिति: १० बैशाख २०७४, आइतबार