भारतीय दबाबले सैन्य अभ्यास खुम्चियो: चीन


 


काठमाण्डौ, वैशाख ९

भारतले नेपाललाई दिएको कडा दबाबका कारण नेपाल र चीनबीच जारी संयुक्त सैन्य अभ्यास सानो आकारमा खुच्याउन बाध्य हुनुपरेको चीनले जनाएको छ ।चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्समा हालै प्रकाशित लेखमा नेपाल र चीनबीच सुरुमा बटालियन तहमा संयुक्त सैन्य अभ्यास गर्ने योजना रहेपनि भारतले नेपाललाई दिएको दबाबका कारण सानो आकारमा अभ्यास गर्नुपरेको जनाइएको छ ।

नेपाली सेनाले सानो आकारको चीनसँग संयुक्त सैन्य तालिम भइरहेको जनाउँदै उक्त अभ्यासमा कति जना चिनियाँ र नेपाली सैनिक सहभागी छन् समेत खुलाउन नचाहेका बेला चिनियाँ प्रतिक्रिया आएको हो ।

भारतले नेपाललाई दिएको दबाबकै कारण संयुक्त सैन्य अभ्यास नेपाली सेनाको प्यारा तालिम केन्द्र काठमाडौंमा आयोजना गर्नुपर्ने अवस्था आएको उक्त लेखमा उल्लेख छ । यति सानो खालको सैन्य अभ्यासलाई पनि भारतीय सुरक्षा रणनीतिका विश्लेषक र मिडियाले अनावश्यक चासो दिएको लेखमा उल्लेख छ । दक्षिण एसिया आतंकवादबाट ग्रस्त क्षेत्र रहेकाले पनि यस खालका अभ्यास क्षेत्रीय स्थिरताका लागि महत्वपूर्ण रहेको चिनियाँ बुझाई छ ।

नेपाल र चीनबीच हालैका दिनमा निकट आर्थिक सम्बन्ध रहेको र नेपालले चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ अवधारणामा सहभागी हुन चाहेको र त्यसका लागि क्षेत्रीय स्थिरता आवश्यक रहेको सन्दर्भमा यो सैन्य अभ्यास भएको लेखमा उल्लेख छ । नेपालमा दुई बर्षअघि गएको विनाशकारी भूकम्पमा व्यापक क्षति व्यहोरेको र त्यसपछिको राहत वितरणमा चीनको सहयोगले गहिरो छाप छाडेको सन्दर्भ उल्लेख छ । नेपाल भूकम्पबाट उच्च जोखिममा रहेको तथा अन्य खालका दैवी प्रकोप भइरहने अवस्था रहेको लेखमा उल्लेख छ ।

यो खबर हामिले आजको अन्नपूर्ण पोष्ट दैनिकबाट लिएका हौँ ।

प्रकाशित मिति: ९ बैशाख २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्